एफएनसीसीआईको पर्यटन तथा हवाई यातायात समितिको उपसभापतिमा थपलिया नियुक्त
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को पर्यटन तथा हवाई यातायात समितिको उपसभापतिमा कुमारमणि थपलिया नियुक्त भएका छन् । थपलिया नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का निवर्तमान अध्यक्षसमेत हुन् ।
एफएनसीसीआई अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा गठित समितिमा थपलियालाई उपसभापतिको जिम्मेवारी दिइएको हो । समितिको सभापतिमा संघर्ष बिष्ट रहेका छन् । थपलियालाई नियुक्तिको औपचारिक पत्र असोज १६ गते एफएनसीसीआई सचिवालय काठमाडौंमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको थियो ।
समितिले नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन तथा दिगो विकासमा निजी क्षेत्रको सहभागिताका लागि संस्थागत मञ्चका रूपमा काम गर्ने जनाएको छ । पर्यटन पूर्वाधार तथा सेवा, सेवाको गुणस्तर, उद्योगका समस्या, नीतिगत संवाद तथा सार्वजनिक–निजी क्षेत्रबीचको सहकार्य समितिको प्राथमिकतामा रहनेछन् ।
थपलियाले सन् २०२४ देखि २०२६ सम्म नाट्टाको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनी प्रिसियस ट्राभल्स एन्ड टुर्स प्रालिका प्रमुख कार्यकारी अधिकृतसमेत हुन् । उनले सन् २०२५ मा नेपाल पर्यटन बोर्डको बोर्ड सदस्यका रूपमा समेत काम गरेका थिए ।
पर्यटन क्षेत्रमा गरेको योगदानको कदर गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विश्व पर्यटन दिवसको अवसरमा उनलाई ‘पर्यटन उत्कृष्टता पुरस्कार २०२५’ प्रदान गरेको थियो ।
नाट्टाको नेतृत्वमा रहँदा थपलिया पर्यटन नीति, उद्योगको प्रतिनिधित्व तथा अन्तर्राष्ट्रिय सहकार्यमा सक्रिय थिए । उनले स्पेन, भारत, भुटान, श्रीलंका, चीन, म्यानमार र बंगलादेशलगायतका देशका पर्यटन संस्था तथा सरोकारवालासँग सहकार्य र संस्थागत सम्बन्ध विस्तारमा भूमिका खेलेका थिए ।
त्यसैगरी, थपलिया विश्वव्यापी ट्राभल एजेन्टहरूको संस्था युनिभर्सल फेडेरेसन अफ ट्राभल एजेन्ट्स एसोसिएसन (यूएफटीएए)का बोर्ड सदस्यसमेत हुन् । त्यहाँ उनले नेपालको ट्राभल ट्रेडको प्रतिनिधित्व गर्दै आएका छन् ।
एफएनसीसीआईको नयाँ जिम्मेवारीमा उनले पर्यटन नीति, हवाई सेवा तथा कनेक्टिभिटी, पूर्वाधार, लगानी, व्यावसायिक प्रतिस्पर्धा र सार्वजनिक–निजी क्षेत्रको सहकार्यका विषयमा आफ्नो अनुभव उपयोग गर्ने अपेक्षा गरिएको छ ।





















