वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृतमा आवेदन माग
काठमाडौं । वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न इच्छुक उम्मेदवारबाट आवेदन आह्वान गरिएको छ । अर्थ मन्त्रालयले कोषको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तीका लागि नाम सिफारिस गर्न दरखास्त माग गरेको हो ।
मन्त्रालयका अनुसार प्रमुख कार्यकारी अधिकृत पदका लागि नेपाली नागरिक वा नेपालमा स्थायी आवासीय अनुमति प्राप्त विदेशी नागरिक हुनुपर्नेछ । उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट वित्त विश्लेषण, अर्थशास्त्र, व्यवस्थापन वा वाणिज्यशास्त्र, सार्वजनिक विकास प्रशासन, वाणिज्य कानुन वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
त्यस्तै, पूर्वाधार संरचना, आयोजना निर्माण तथा विकास, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैङ्किङ, वित्तीय क्षेत्र, औद्योगिक व्यवस्थापन वा अन्तर्राष्ट्रिय वित्तीय क्षेत्र वा संस्थामा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव आवश्यक पर्नेछ ।
उम्मेदवारमा कोषसँग सम्बन्धित कार्यका लागि उच्च नैतिक चरित्र कायम गरेको र कार्यविधिको दफा (६) बमोजिम अयोग्य नभएको हुनुपर्ने पनि सूचनामा उल्लेख छ ।
दरखास्तसँगै उम्मेदवारले व्यक्तिगत विवरण, शैक्षिक योग्यता तथा अनुभवसम्बन्धी प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, कार्य विवरण र अन्य आवश्यक कागजात पेस गर्नुपर्नेछ । उम्मेदवारले व्यावसायिक रणनीति तथा कार्य योजना पनि पेस गर्नुपर्नेछ ।
कार्य योजनामा नेपालमा लगानी तथा पूर्वाधारमा लगानीको अवस्था, वैकल्पिक विकास वित्तको दृष्टिकोण तथा अन्तर्राष्ट्रिय परिदृश्य, कोष सञ्चालनको विश्लेषण, सबल पक्ष तथा चुनौती र व्यवस्थापनका लागि धारणा, कोष सञ्चालनको रणनीतिक दिशा, चार वर्षको व्यावसायिक कार्य योजना, संस्थागत सुशासन तथा सङ्गठनात्मक क्षमता विकास र कार्य योजना कार्यान्वयनका चरण तथा समाधानका उपाय समेट्नुपर्ने सूचनामा उल्लेख छ ।





















