भोटेकोशी नदीमा आएकाे बाढीले बीमा कम्पनीहरूकाे दायित्व भार २६ अर्ब नाग्ने
काठमाडौं। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अकस्मात आएको विनाशकारी बाढीका कारण बीमा बजार क्षेत्रमा अर्बौँ रुपैयाँबराबरको भुक्तानी दायित्व सिर्जना हुने देखिएको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक अनुमानित दाबी तथ्यांक अनुसार १५ वटा बीमा कम्पनीमा कुल ५८३ वटा बीमालेखबाट २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँबराबरको प्रारम्भिक बीमा दाबी दायित्व पर्ने देखिएको छ ।
बीमा प्राधिकरण स्राेतका अनुसार प्रारम्भिक अनुमानमा सबैभन्दा ठूलो बीमा दाबी दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा देखिएको छ । साे बीमा कम्पनीमा आठ वटा बीमालेखबाट १३ अर्ब ४ करोड २१ लाख २६ हजार ६ सय रुपैयाँबराबरको प्रारम्भिक दाबी पर्ने अनुमान गरिएको छ ।
कुल अनुमानित बीमा दाबीको ठूलो हिस्सा एउटै कम्पनीमा केन्द्रित भएकाले भोटेकोशी नदीकाे विनाशकारी बाढीले बीमा क्षेत्रमाथि पार्न सक्ने वित्तीय प्रभाव समेत निकै उच्च परिणामकाे देखिएको छ ।
यस्तै युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडमा ३८ वटा बीमालेखबाट ४ अर्ब ९७ करोड ४८ लाख ६२ रुपैयाँबराबरको प्रारम्भिक बीमा दाबी पर्ने देखिएको छ । उता सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडमा १०२ वटा बीमालेखबाट २ अर्ब १० करोड २८ लाख ७२ हजार रुपैयाँबराबरको दाबी पर्ने अनुमान गरिएको छ ।
यता सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडमा ६७ बीमालेखबाट १ अर्ब ८८ करोड ७३ लाख ७६ हजार रुपैयाँ र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा १२७ बीमालेखबाट १ अर्ब ८७ करोड ५४ लाख ५९ हजार रुपैयाँबराबरको प्रारम्भिक बीमा दाबी पर्ने प्राधिकरण स्राेतले बताएकाे छ ।
त्यसैगरि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडमा ४५ बीमालेखबाट ६४ करोड ७८ लाख २० हजार रुपैयाँबराबरको प्रारम्भिक बीमा दाबी पर्ने भएको छ । प्राधिकरणका स्राेतका अनुसार नेको इन्स्योरेन्स कम्पनी लिमिटेडमा ६६ बीमालेखबाट ५१ करोड ७० लाख ३७ हजार रुपैयाँ बीमा दाबी पर्ने अनुमान गरिएकाे छ।
यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडमा ३२ बीमालेखबाट २४ करोड २३ लाख २७ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा ३२ बीमालेखबाट २३ करोड ८६ लाख ४५ हजार रुपैयाँ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडमा २६ बीमालेखबाट १८ करोड ७३ लाख चार हजार रुपैयाँ बराबरको प्रारम्भिक बीमा दाबी दायित्व पर्ने अनुमान गरिएको छ ।
यसैगरी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा २१ वटा बीमालेखबाट ११ करोड ३१ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडमा १४ वटा बीमालेखबाट तीन करोड १२ लाख ८ हजार रुपैयाँ, राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा २ वटा बीमालेखबाट ७६ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्स कम्पनी लिमिटेडमा दुईवटा बीमालेखबाट ५३ लाख ३५ हजार रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा ५ लाख रुपैयाँबराबरको प्रारम्भिक बीमा दाबी दायित्व भार पर्ने देखिएको छ ।
यसरी १५ वटा बीमा कम्पनीमा परेको बीमा भार दायित्वकाे प्रारम्भिक विवरणअनुसार भोटेकोशी बाढीबाट कुल २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँबराबरको बीमा दाबी पर्न सक्ने प्राधिकरण स्राेतले जनाएको छ ।
यद्यपि यी रकमहरू प्रारम्भिक अनुमानमा आधारित भएकाले क्षतिको विस्तृत मूल्यांकन तथा दाबी प्रमाणीकरणपछि वास्तविक भुक्तानी दायित्वमा धेरै फरक पर्न सक्ने प्राधिकरण समाचार स्राेतले बताएकाे छ ।
निर्जिवन दायित्व अन्तरगत सम्पत्ति बीमा,परिवहन बीमा,माेटर बीमा,प्राकृतिक प्रकाेप बीमा,घर बीमा,व्यवसाय बीमा लगायतका भुक्तानी दायित्व रहेका छन।
यस्ता बीमाकाे भारत लगायत तेस्राे देशका रि- इन्स्योरेन्स कम्पनीहरूमा बीमा गरिएकाे हुन्छ। त्यसले गर्दा नेपालका निर्जिवन बीमा कम्पनीहरूलाई भुक्तानी दायित्व भार केही कम पर्ने हुन्छ।
इन्जिन तथा ठेक्का जोखिम बीमामा २१ अर्बको दाबी
नेपाल बीमा प्राधिकरण स्राेतका अनुसार बीमालेखको आधारमा भोटेकोशी नदीमा आएकाे विनाशकारी बाढीबाट सबैभन्दा ठूलो बीमा दाबी दायित्व भार भाेटेकाेशी र त्रिशुली नदी किनारमा बनेका जलविद्युत आयाेजना र कम्पनीहरूकाे इन्जिन र ठेक्का जोखिम बीमाअन्तर्गत पर्ने देखिएको छ ।
यो शीर्षकअन्तर्गत ५२ वटा बीमित संख्या रहेको पाइएकाे छ। यसमा मात्र २० अर्ब ५० करोड ७७ लाख ९० हजार रुपैयाँबराबरको बीमा भुक्तानी दाबी दायित्व भार पर्ने प्रारम्भिक अनुमान गरिएको छ । त्यसपछि ठूलो दाबी सम्पत्ति बीमा दायित्व भार अन्तर्गत देखिएको छ ।
यस शीर्षकमा ११३ बीमित संख्या रहेको छ। यसका लागि २ अर्ब ३४ करोड ६२ लाख २० हजार रुपैयाँबराबरको भुक्तानी दाबी पर्ने अनुमान गरिएको छ ।
यस्तै प्राधिकरणका अनुसार मोटर बीमाअन्तर्गत ३१३ बीमित संख्याबाट १ अर्ब ५० करोड ९३ लाख ९० हजार रुपैयाँबराबरको बीमा भुक्तानी दाबी पर्ने देखिएको छ ।
परिवहन बीमाअन्तर्गत ४७ बीमित संख्याबाट ८९ करोड ७७ लाख ३७ हजार रुपैयाँबराबरको बीमा भुक्तानी दाबी पर्ने अनुमान गरिएको छ ।
प्राधिकरण स्राेतका अनुसार अन्य बीमा अन्तर्गत ५४ बीमित संख्याका लागि ५२ करोड ९२ लाख ९२ हजार रुपैयाँबराबरको बीमा भुक्तानी दाबी पर्ने देखिएको छ ।
त्यस्तै स्वास्थ्य बीमाअन्तर्गत ४ बीमित संख्या रहेकोमा ४ करोड १६ लाख रुपैयाँबराबरको बीमा दाबी भुक्तानी पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।
प्राधिकरण स्राेतका अनुसार इन्जिन तथा ठेक्का जोखिम बीमा, सम्पत्ति बीमा, मोटर बीमा, परिवहन बीमा, अन्य बीमा र स्वास्थ्य बीमासहित कुल ५८३ बीमित संख्याबाट २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँबराबरको बीमा दाबी भुक्तानी गर्नुपर्ने अवस्था देखिएको प्राधिकरण स्राेतकाे भनाई छ ।























