एनएलजी इन्स्योरेन्सले ५ करोड ७८ लाख नाफा कमायो
अन्य सूचकको अवस्था कस्तो ?
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा र प्रतिशेयर आम्दानीमा गिरावट आए पनि व्यवसाय विस्तारमा भने आक्रामक देखिएको छ ।
समीक्षा अवधिमा एनएलजी इन्स्योरेन्सले ५ करोड ७८ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ६२.३१ प्रतिशतले न्यून हो ।
अघिल्लो वर्ष कम्पनीले १५ करोड ३३ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। विशेषगरी कम्पनीको खर्च र दाबी भुक्तानीमा भएको उच्च वृद्धिका कारण नाफामा संकुचन देखिएको हो ।
कम्पनीको व्यवसाय गर्ने मुख्य स्रोत खुद बीमा शुल्क आर्जन भने १७.९९ प्रतिशतले बढेर १ अर्ब १५ करोड ९६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ९८ करोड २८ लाख रुपैयाँ मात्र थियो । यस्तै कम्पनीको कूल आम्दानी पनि ११.६० प्रतिशतले वृद्धि भई १ अर्ब ८३ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको खर्च तर्फको भार निकै बढेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको कूल खर्च २७.४१ प्रतिशतले वृद्धि भएर १ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै कम्पनीले गर्ने कूल दाबी भुक्तानीमा पनि ३७.५५ प्रतिशतको वृद्धि देखिएको छ जसले गर्दा नाफामा सोझै असर परेको हो । अघिल्लो वर्ष २ अर्ब ४२ करोड रुपैयाँ रहेको दाबी भुक्तानी यस वर्ष ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।
पूँजीगत आधारमा हेर्दा कम्पनीको चुक्ता पूँजी ४ प्रतिशतले बढेर २ अर्ब ६६ करोड ७८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको बीमा कोषमा पनि १४.७६ प्रतिशतको सुखद वृद्धि सहित ३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ बराबर रहेको छ। तर रिटेन्ड अर्निङमा भने ८७.२० प्रतिशतको गिरावट आई १ करोड १७ लाख रुपैयाँमा सीमित भएको छ ।
नाफामा आएको गिरावटसँगै प्रतिशेयर आम्दानीमा पनि गिरावट देखिएको छ । अघिल्लो वर्ष ५.९८ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी ३.८१ रुपैयाँ घटेर २.१७ रुपैयाँ ओर्लिएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ भने १६६.३६ रुपैयाँ कायम भएको छ ।





















