stcnepal long ad
ime life insurance
national life
global ime bank long

अबदेखि ५ हजार डलरसम्म विदेशी मुद्रा ल्याउन–लैजान भन्सार घोषणा चाहिदैन :राष्ट्र बैंक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ  ।  नेपाल राष्ट्र बैंकले नगद विदेशी मुद्रा नेपाल भित्र्याउने तथा नेपालबाट बाहिर लैजाने सम्बन्धी व्यवस्था पुनः स्पष्ट गर्दै नयाँ सूचना जारी गरेको छ। नयाँ व्यवस्थाअनुसार अब नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्म वा सो बराबरको अन्य विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन वा नेपालबाट बाहिर लैजान पाउनेछन्।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम जारी गरेको सूचनाअनुसार अमेरिकी डलर ५ हजारभन्दा बढी वा सो बराबरको विदेशी मुद्रा ल्याउँदा वा लैजाँदा भने अनिवार्य रूपमा भन्सार कार्यालयमा घोषणा गरी प्रमाणित गराउनुपर्नेछ।

भारतीय रुपैयाँको हकमा पनि अमेरिकी डलर ५ हजार बराबर हुन आउने रकमसम्म भन्सार घोषणा आवश्यक नपर्ने व्यवस्था कायम रहेको छ। त्यस्तै, नेपाल राष्ट्र बैंकले विनिमय दर प्रकाशन नगर्ने अन्य विदेशी मुद्राको हकमा पनि अमेरिकी डलर ५ हजार बराबरसम्म यही व्यवस्था लागु हुनेछ।

राष्ट्र बैंकले भारतीय मुद्रासम्बन्धी व्यवस्था पनि पुनः स्पष्ट गरेको छ। सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपैयाँ ५०० र १००० दरका नोटको कारोबारमा लगाइएको प्रतिबन्ध यथावत् रहेको बैंकले जनाएको छ। ती नोट नेपालमा ल्याउन, लैजान, सटही गर्न वा कुनै पनि प्रकारको कारोबार गर्न पाइने छैन।

यस्तै, सन् २०१६ नोभेम्बर ९ पछि जारी भएका भारतीय रुपैयाँ २०० र ५०० दरका नोट भने नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम भारतीय रुपैयाँ २५ हजारसम्म ल्याउन, लैजान तथा सटही गर्न सक्ने व्यवस्था यथावत् रहेको छ।

राष्ट्र बैंकले नेपाली नागरिकले भारतबाहेक अन्य कुनै पनि मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था पनि पुनः दोहोर्‍याएको छ।

बैंकले विदेशी विनिमयसम्बन्धी यसअघि २०८२ भदौ १० गते प्रकाशित सूचना खारेज गरिएको जानकारी दिँदै अब नयाँ सूचनाअनुसार नै विदेशी मुद्रा तथा भारतीय रुपैयाँको ओसारपसारसम्बन्धी व्यवस्था लागु हुने जनाएको छ।

IME Lifesidebar
kumari