प्रधानमन्त्री कार्यसम्पादन एकाइ स्थापना
काठमाडौँ । राष्ट्रिय प्रतिबद्धता, विकास योजना र राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी कार्यान्वयन तथा अनुगमनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा स्थापना गरिएको प्रधानमन्त्री कार्यसम्पादन एकाइ (पिएम डेलिभरी युनिट) ले काम सुरु गरेको छ ।
मन्त्रीपरिषद्को बैठकबाट स्वीकृत १८ बुँदे राष्ट्रिय प्रतिबद्धता अन्तर्गत स्थापना गरिएको यो एकाइ सञ्चालनमा आएसँगै सरकारका प्राथमिकताका कार्यक्रम तथा विकास आयोजनामा देखिएका समस्या समाधान गर्न अन्तरनिकाय समन्वय गर्ने र कामको नतिजा मापन गर्ने कार्य सहज हुने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले सरकारका नीति तथा कार्यक्रम, विकास आयोजना र १८ बुँदे राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन, प्रगति अनुगमन तथा विभिन्न मन्त्रालयबिचको समन्वय सुनिश्चित गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा स्थापना गरिएको ‘प्रधानमन्त्री कार्यसम्पादन एकाइ’ (पिएम डेलिभरी युनिट) स्थापना भई काम सुरु गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार यस संयन्त्रले सरकारका प्रमुख प्राथमिकताका क्षेत्रमा नीतिको प्रभावकारी कार्यान्वयन, मन्त्रालयबिच समन्वय र वास्तविक समयमा नतिजा मापन गरी प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रतिवेदन पेस (रिपोर्टिङ) गर्ने कार्य गर्छ ।
मन्त्रीपरिषद्बाट स्वीकृत शासकीय सुधारका कार्यसूची र राजनीतिक दलका राष्ट्रिय प्रतिबद्धता तोकिएको समयमा भए नभएको कार्यान्वयन अनुगमन (ट्र्याकिङ) गर्ने, विकास आयोजना र सेवा प्रवाहका क्रममा विभिन्न मन्त्रालय र सरकारी निकायबिच उत्पन्न हुने समस्या तथा अवरोध हटाउन अन्तरनिकाय समन्वय गर्न, राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनाको मुख्य कार्यसम्पादन सूचक तयार गरी त्यसको नियमित प्रगति मूल्याङ्कन गर्न तथा कर्मचारीतन्त्रलाई नतिजामूलक, चुस्त र जिम्मेवार बनाई सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन र जवाफदेहिता अभिवृद्धि गर्न यस एकाइको स्थापना गरिएको प्रवक्ता अर्यालले बताउनुभयो ।
प्रवक्ता अर्यालले भन्नुभयो, “मुख्यतः मुलुकको शासनप्रणालीमा नीति निर्माण र कार्यान्वयनबिच रहेको अन्तरलाई घटाउन, मन्त्रीपरिषद्बाट भएका निर्णयको कार्यान्वयनमा सहजीकरण गर्न, राष्ट्रिय गौरवका आयोजनाको कार्यसम्पादनमा देखिएका ढिलासुस्ती तथा कमीकमजोरीलाई हटाएर पुँजीगत खर्च बढाउन ‘प्रधानमन्त्री कार्यसम्पादन एकाइ’ स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।”
त्यसै गरी सङ्घ, प्रदेश र स्थानीय तहबिचको आयोजना र नीति कार्यान्वयनमा देखिएका समस्याको समाधान तथा समन्वय र सहजीकरण कायम गर्नसमेत यस एकाइको स्थापना गरिएको उहाँले बताउनुभयो । यस एकाइले सरकारको १८ बुँदे राष्ट्रिय प्रतिबद्धता तथा विकास कार्यक्रमको प्रभावकारी कार्यान्वयन, अनुगमन र समन्वय गर्ने उहाँले स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गतका नतिजा व्यवस्थापन महाशाखाका सहसचिवलाई यस एकाइको प्रमुख तोकिएको छ भने अर्थ मन्त्रालयका सहसचिव, ऊर्जा, जलस्रोतलगायत विभिन्न मन्त्रालयको प्रतिनिधित्व गराइएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गतका नतिजा व्यवस्थापन महाशाखाका उपसचिवलाई यस एकाइको सदस्यसचिव तोकिएको छ ।
अन्तर्राष्ट्रिय अभ्यास
प्रधानमन्त्री कार्यालयमा ‘पिएम डेलिभरी युनिट’ स्थापना गर्ने अन्तर्राष्ट्रिय अभ्यास सन् २००१ मा बेलायतबाट सुरु भएको हो । सन् २००१ मा बेलायतका तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरको कार्यकालमा ‘प्रधानमन्त्री कार्यसम्पादन एकाइ’ को स्थापना गरिएको थियो ।
यसले स्वास्थ्य, शिक्षा, यातायात र अपराध नियन्त्रण जस्ता सरकारका मुख्य प्राथमिकताका क्षेत्रमा तोकिएका लक्ष्य हासिल भए नभएको प्रत्यक्ष अनुगमन गर्दै प्रधानमन्त्रीलाई नियमित प्रतिवेदन बुझाउने गथ्र्याे ।
यस अवधारणालाई पछि ‘डेलिभरिलोजी’ को नामसमेत दिइयो । बेलायतपछि मलेसियाको प्रधानमन्त्री कार्यालयमा समेत यस प्रकारको अभ्यास सञ्चालनमा ल्याइएको थियो । बेलायत र मलेसियाको सफलतापछि चिली, इन्डोनेसिया, तान्जानिया र युगान्डालगायतका मुलुकले समेत यस प्रकारको अभ्यास सञ्चालनमा ल्याएको देखिन्छ ।

























