क्लासिक टेकको १७औँ वार्षिकोत्सव
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘प्रभावका लागि जोडौँ (कनेक्ट फर इम्प्याक्ट)’ भन्ने मूल नारासहित आफ्नो १७औँ वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवका अवसरमा कम्पनीले गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्नुका साथै प्रविधिमार्फत शिक्षा, रोजगारी र समावेशी विकासमा योगदान पुर्याउने प्रतिबद्धता दोहोर्याएको छ ।
कम्पनीका अनुसार ‘कनेक्ट फर इम्प्याक्ट’ अभियान सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर सकारात्मक परिवर्तन ल्याउने दीर्घकालीन अभियान हो ।
यस अभियानअन्तर्गत क्लासिक टेकले नेपाल अपाङ्ग महिला संघ (एनडीडब्लूए) सँग समावेशी रोजगारी प्रवर्द्धनका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ । यो सम्झौताले अपाङ्गता भएका महिलाहरूलाई रोजगारीका अवसरहरू सिर्जना गर्न मद्दत पुर्याउने कम्पनीले विश्वास लिएको छ ।
यसैगरी, कम्पनीले अनमोल चिल्ड्रेन डेभलपमेन्ट होम (एसीडीएच) लाई निःशुल्क उच्च गतिको इन्टरनेट सेवा र एक थान कम्प्युटर उपलब्ध गराएको छ । यस सहयोगबाट त्यहाँ रहेका बालबालिकाहरूको डिजिटल शिक्षा र प्रविधिमा पहुँच बढाउन मद्दत पुग्ने जनाइएको छ ।

























