निःशुल्क ‘ब्लु बस’ सञ्चालनको तयारी
काठमाडौँ । सरकारले ‘ब्लु बस’ सञ्चालनको तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । सरकारको शासकीय सुधारसम्बन्धी सय कार्यसूचीको बुँदा ९७ र ९८ मा उल्लेख भए अनुसार महिलाको सुरक्षित आगमन सुनिश्चित गर्न, सातै प्रदेशमा निःशुल्क ब्लु बससेवा सञ्चालन गर्ने र पहिलो चरणका सय दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने प्रतिबद्धता अनुसार उक्त तयारी गरिएको हो ।
निःशुल्क बससेवा सञ्चालनका लागि व्यवस्थापन र खर्चका हिसाबले तयारी गर्नुपर्ने मन्त्रालयले जनाएको छ । सञ्चालन गरिहाल्नुभन्दा पनि दीर्घकालीन रूपमै सञ्चालन गर्न सकिने गरी अवधारणा मन्त्रालयले बनाएको छ ।
मन्त्रालयका उपसचिव ज्ञानराज लम्सालले भन्नुभयो, “ब्लु बस सञ्चालनको अवधारणामा काम भइरहेको छ । अहिले त बजेट नै छैन, आगामी आर्थिक वर्षदेखि अगाडि बढाउने हो । तयारीको काम यातायात विभागबाट पनि भइरहेको छ ।”
ब्लु बस सञ्चालनका लागि मन्त्रालयको निर्देशन अनुसार यातायात व्यवस्था विभागले साझा यातायातसँग माग गरेको अवधारणाका आधारमा प्रस्ताव तयार गरी मन्त्रालयमा पठाएको छ । विभागका सूचना अधिकारी गणेश मानसिं राईले भन्नुभयो, “साझा यातायातले तयार गरेको सञ्चालन र व्यवस्थापनको अवधारणा हामीले मन्त्रालयमा पठाएका छौँ । थप गृहकार्य मन्त्रालयबाटै हुन्छ होला ।”
काठमाडौँ उपत्यकामा साझा यातायातसँगको सहकार्यमा कम्तीमा सात वटा बसलाई ब्लु बसका रूपमा सञ्चालन गर्ने योजना छ । काठमाडौँबाहिर सबै प्रदेशमा यातायात व्यवसायी सङ्घसँग समन्वय गरी कम्तीमा १८ वटा बस सञ्चालन गर्ने तयारी छ ।
साझा यातायातबाट प्राप्त अवधारणामा आवश्यक प्रशासनिक तथा प्राविधिक तयारीका काम अघि बढेको मन्त्रालयले जनाएको छ । कार्यसूचीमा सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा रोकथामका लागि सबै सवारीमा सिसिटिभी र ड्यासक्याम जडान गर्ने र राइड सेयरिङ एपहरूमा एसओएस बटन अनिवार्य गरी आकस्मिक तथा खतराको सूचना प्रहरीसम्म तत्काल पुग्ने व्यवस्था मिलाउने ३० दिनमा सम्पन्न गर्ने भनिएको छ । जस अनुसार साझा यातायातसहित करिब दुई सय सवारीमा सिसिटिभी तथा ड्यासक्याम जडान गरिएको विभागले जनाएको छ ।





















