नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै
काठमाडौँ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ को सूचीमा कायमै राखेको छ ।
विश्वव्यापी रूपमा सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको अवस्थाबारे आफ्नो पछिल्लो प्रतिवेदन सार्वजनिक गर्दै एफएटीएफले नेपाललाई सोही सूचीमा निरन्तरता दिएको हो ।
फ्रान्सको पेरिसमा सम्पन्न एफएटीएफको पूर्ण बैठकपछि शुक्रबार जारी गरिएको प्रतिवेदनअनुसार नेपाल अझै पनि उच्च निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ को सूचीमै कायम रहेको जनाइको छ ।
एफएटीएफ सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी रोक्न संसारभरका मुलुकहरूले खडा गरेको अन्तर सरकारी निकाय हो । यसले सम्पत्ति शुद्धीकरणको जोखिममा रहेका मुलुकलाई ‘ब्ल्याक लिस्ट’ तथा ‘ग्रे–लिस्ट’मा राख्दै आएको छ ।
एफएटीएफले सम्पत्ति शुद्धीकरण तथा आतंकवादमा लगानी नियन्त्रणमा कुनै पनि मुलुकको अवस्थालाई प्रभावकारितासम्बन्धी ११ सूचक तथा प्राविधिकतर्फ ४० सूचकमा मूल्यांकन गर्ने गर्छ ।
यसअघि सन् २००८ मा नेपाल यस्तै जोखिमपूर्ण सूची (ग्रे लिस्ट)मा परेको थियो । सन् २०१४ मा मात्रै नेपाल त्यो सूचीबाट स्तरोन्नति भएको थियो ।
सन् २०१२ मा नेपाल झण्डैझण्डै ब्ल्याक लिस्टमा परेको थियो । त्यसबेला अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालमा हामी सुधार गराउँछौं, ब्ल्याकलिस्ट नराख भन्दै प्रतिबद्धता गरेपछि त्यसबेला नेपाल जोगिएको थियो ।
सोहीअनुसार आईएमएफको सल्लाहमा नेपालले नीतिगत सुधार गरेपछि नेपाल ब्ल्याक लिस्टबाट जोगिँदै सन् २०१४ मा ग्रे लिस्टबाट स्तरोन्नति पनि भएको थियो ।
एफएटीएफले खैरो सूचीबाट बाहिर निस्किनका लागि नेपाललाई कानुन कार्यान्वयन, वित्तीय अनुगमन प्रणाली, जोखिमयुक्त क्षेत्र नियन्त्रण लगायतका क्षेत्रमा सुधार गर्न सुझाव दिएको छ ।


























