मर्मतका लागि दुई वर्षअघि इजरायल पठाइएको नेपाल एयरलाइन्स विमानको इन्जिन आज नेपाल आइपुग्दै
काठमाडौँ । मर्मतका लागि दुई वर्षअघि इजरायल पठाइएको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी जहाजको इन्जिन आज राति काठमाडौँ आइपुग्ने भएको छ ।
दुई वर्षदेखि आर्थिक विवाद र भुक्तानी नहुँदा इजरायलमै रोकिएको ए–३२० जहाजको इन्जिन निगमको नयाँ महाप्रबन्धक तथा कार्यकारी निर्देशक अमृतमान श्रेष्ठको पहलपछि नेपाल ल्याउन लागिएको हो ।
इन्जिन मर्मतका लागि जिम्मा पाएको इजरायली कम्पनी एरोस्पेस इन्डस्ट्रिज लिमिटेड (आईएआई) सँगको भुक्तानी विवाद मिलेपछि इन्जिन नेपाल ल्याउन लागिएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए । ‘आज राति नै जहाज इन्जिन लिएर काठमाडौँ अवतरण गर्नेछ,’ श्रेष्ठले भने ।
दुई वर्षअघि इन्जिन मर्मतका लागि इजरायल पठाइएको थियो । सो अवधिमा निगमले भाडाको इन्जिन प्रयोग गरेर जहाज उडाइरहेको थियो । मर्मत खर्च र भाडाको इन्जिनको भुक्तानी समयमै नहुँदा मर्मत कम्पनीसँगको सम्बन्ध बिग्रिएको थियो । मर्मत भइसकेको इन्जिन पनि भुक्तानीको ‘डेडलक’का कारण नेपाल ल्याउन सकिएको थिएन ।
निगममा आफूले पदभार सम्हालेको दुई महिनाभित्रै यो समस्या समाधान भएको महाप्रबन्धक श्रेष्ठले बताए । उनका अनुसार, मर्मत कम्पनीसँग नेगोसिएसन (वार्ता) गरी करिब १० लाख डलर (१ मिलियन डलर) जरिबाना/ब्याज छुट गराउन निगम सफल भएको छ । ‘हामीले मर्मतको पैसा र भाडाको पैसा तिर्यौँ, साथै १० लाख डलर कम गराएर सहमति गर्यौँ । त्यसपछि कम्पनीले इन्जिन रिलिज गरेको हो,’ श्रेष्ठले भने ।
भाडाको इन्जिन फिर्ता, आफ्नै इन्जिनमा उड्ने
इन्जिन लिन निगमको न्यारोबडी जहाज नै इजरायल गएको थियो । उक्त जहाजले प्रयोग गरिरहेको भाडाको इन्जिन इजरायलमै छोडेर आफ्नै इन्जिन फिट गरी नेपाल आइरहेको श्रेष्ठले बताए ।
उनले यो जहाज इजरायलबाट दुबई हुँदै काठमाडौँ आइरहेको जानकारी दिए । उनका अनुसार उक्त जहाज आज राति नै काठमाडौँ आइपुग्ने छ । दुबईबाट जहाजले यात्रुसमेत बोकेर आइरहेको महाप्रबन्धक श्रेष्ठले जानकारी दिए । भाडाको इन्जिन प्रयोग गर्दा दैनिक ११ लाख रूपैयाँ खर्च भइरहेको थियो ।
निगमलाई आर्थिक भार कम
आफ्नै इन्जिन आएपछि निगमलाई भाडाको इन्जिन बापत तिर्नुपर्ने ठुलो रकम बचत हुने महाप्रबन्धक श्रेष्ठले बताए । उनका अनुसार सामान्यतया नयाँ इन्जिन खरिद गर्न करिब ४ अर्ब रुपैयाँ लाग्ने गरेको छ । उक्त जहाजको इन्जिन मर्मतमा करिब ८० देखि ९० करोड रुपैयाँ खर्च भएको छ ।
जहाज मर्मत तथा इन्जिनबापतको कुनै पनि रकम भुक्तानी नगरेपछि आईएआईले गत कात्तिक ५ गते नागरिक उड्डयन प्राधिकरण र निगमलाई सम्झौता रद्द गरेको भन्दै पत्राचार समेत गरेको थियो ।
निगमका अनुसार इन्जिन मर्मत बापतको करिब २८ करोड र भाडामा चलिरहेको इन्जिनबापत करिब ४२ करोड गरी ७० करोडभन्दा बढी रकम निगमले उक्त कम्पनीलाई बुझाउनुपर्ने थियो ।
जहाजको इन्जिनको विषयमा प्रधानमन्त्री सुशीला कार्कीले समेत चासो राख्दै आएकी थिइन् । उनले मर्मतका लागि इजरायल पठाइएको नेपाल वायु सेवा निगमको ए–३२० जहाजको इन्जिन छिटो ल्याएर सञ्चालन गर्न निर्देशन दिएकी थिइन् ।
इन्जिन समयमा ल्याउन नसक्दा जहाज ग्राउन्ड हुने जोखिम बढेको थियो । तर अब उक्त समस्या समाधान भएसँगै तत्कालका लागि जहाज ग्राउन्ड हुने जोखिम टरेको छ ।





























