stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल टेलिकमले करिब ५ अर्ब रुपैयाँको बिलिङ प्रणाली खरिदको ठेक्का प्रक्रिया रद्द

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल टेलिकमले करिब ५ अर्ब रुपैयाँको बिलिङ प्रणाली खरिदको ठेक्का प्रक्रिया रद्द गरेको छ। कम्पनीले आइतबार सूचना जारी गर्दै कन्भर्जेन्ट रियलटाइम बिलिङ तथा ग्राहक सहयोग प्रणालीसम्बन्धी विवादित ठेक्का प्रक्रिया रद्द गरेको हो।

आपूर्ति, डेलिभरी, जडान तथा सञ्चालनका लागि आह्वान गरिएको बोलपत्र रद्द गरिएको टेलिकमको केन्द्रीय खरिद विभागले जारी गरेको सूचनामा उल्लेख छ। उक्त बोलपत्र सन् २०२५ मार्च १८ मा सार्वजनिक खरिद प्रणाली (ई–जीपी) मार्फत प्रकाशन गरिएको थियो।

कम्पनीका अनुसार २ माघ २०८२ को निर्णयअनुसार ठेक्का प्रक्रिया रद्द गरिएको हो। यसबारे सबै इच्छुक तथा सहभागी बोलपत्रदातालाई जानकारी गराइएको सूचनामा उल्लेख छ । कम्पनीले ठेक्का रद्द गर्नुको कारण भने खुलाएको छैन।

यो ठेक्कामा चिनियाँ कम्पनी हुवावेसँग मिलेमतो भएको र उसैलाई मात्र ठेक्का सुम्पने गरी मापदण्ड तयार पारिएको भन्दै आलोचना भएको थियो ।

हुवावे र ह्वेल क्लाउड कम्पनीले मात्र प्रस्ताव पेस गरेकामा टेलिकमले प्राविधिक मूल्यांकनमा हुवावेलाई योग्य ठहर्‍याएको थियो । यसले गर्दा अन्य विश्वस्तरीय कम्पनीलाई प्रतिस्पर्धाबाट बाहिर राख्ने गरी ‘भेन्डर लक–इन’ रणनीति अपनाएको भन्दै प्रश्न उठेको थियो ।

हुवावेले टेलिकमको कोर नेटवर्क पूर्वाधारसमेत उपलब्ध गराउँदै आएको हुनाले बिलिङ सिस्टम एकै भेन्डरलाई दिन नहुने विज्ञहरूले औंल्याउँदै आएका थिए ।

सर्वोच्च अदालतले समेत टेलिकमले कोर नेटवर्क र बिलिङ प्रणाली एउटै आपूर्तिकर्ताबाट लिन नहुने निर्देशनात्मक आदेश सुनाएको थियो ।

टेलिकमको बिलिङ प्रणाली खरिद लामो समयदेखि विवादित बन्दै आएको छ । सन् २०११ मा चिनियाँ कम्पनी एसिया इन्फोबाट खरिद गरिएको बिलिङ प्रणाली समयसँगै पुरानो बन्दै गएपछि सेवामा समस्या देखिन थालेको थियो ।

टेलिकमको बिलिङ सिस्टम निकै पुरानो र आउटडेटेड भएकाले नेटवर्क अवरुद्ध हुनेदेखि कल ड्रप, इन्टरनेट स्लो, सेसन काटिनेजस्ता समस्या पटक–पटक दोहोरिने गरेका छन् ।

IME Lifesidebar
kumari