stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढे

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को चार महिनाको तुलनामा चालु आवको सो अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या १५ प्रतिशतले बढेको हो ।

विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीका लागि दुई लाख ८३ हजार ६१० जनाले श्रम स्वीकृति लिएका छन् ।

गत आर्थिक वर्षको सो अवधिमा दुई लाख ४१ हजार ५८३ जनाले श्रम स्वीकृति लिएका थिए । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या गत आवको भन्दा यो आर्थिक वर्षको ४२ हजार २७ ले बढी हो ।

चालु आर्थिक वर्षको सो अवधिमा सबैभन्दा बढी कात्तिकमा ७३ हजार ९४ जनाले श्रम स्वीकृति लिएका छन् । गत आवको कात्तिकमा ७० हजार ९९० जनाले श्रम स्वीकृति लिएका थिए ।

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले पछिल्लो समय श्रम गन्तव्यबाट माग बढी आएका कारण वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने बढेको जानकारी दिनुभयो ।

पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि स्वदेशमा केही विकल्प नदेखिएपछि नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढ्दै गइरहेका कारण श्रम स्वीकृतिको सङ्ख्या वृद्धि भएको उहाँको बुझाइ छ ।

पछिल्लो समय विश्वव्यापी आर्थिक मन्दीका कारण श्रम गन्तव्य देशमा रोजगारीका क्षेत्रमा सङ्कुचन आए पनि रोजगारीका लागि जानेको सङ्ख्या बढेको देखिन्छ । चालु आवको साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२ र असोजमा ६४ हजार ६३४ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

युएई तेस्रो गन्तव्य

कात्तिकमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका ७३ हजार ९४ मध्ये सबैभन्दा धेरै साउदी अरबका लागि १५ हजार ७६९ युवाले लिएका छन् । यसअघिका महिनामा पहिलो श्रम गन्तव्य देश बन्दै आएको संयुक्त अरब इमिरेट्स (युएई) कात्तिकमा भने तेस्रो बनेको छ ।

नेपालमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि युएईले श्रमिक भिसामा कडाइ गरेसँगै युएई तेस्रो श्रम गन्तव्य हुन पुगेको छ ।

विभागका अनुसार गत कात्तिकमा युएईका लागि १३ हजार ३९९, कतारका लागि १३ हजार ७३२ र मलेसियाका लागि नौ हजार ८७२ जनाले श्रम स्वीकृति लिएका छन् । युवाले पछिल्ला महिना वैदेशिक रोजगारीमा जान १०६ देशका लागि श्रम स्वीकृति लिएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीले युएईमा श्रमिक भिसामा गर्दै आएको कडाइको असर कात्तिकमा थोरै देखिए पनि मङ्सिरमा अझै स्पष्ट रूपमा देखिने बताउनुभयो । पछिल्ला महिनामा युएईबाट नयाँ माग आउन छोडेको उहाँको भनाइ छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long