दान बहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह
काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषद्को गत २०८२ कात्तिक २४ गतेको निर्णय अनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका दान बहादुर कार्कीले आज गृह मन्त्रालय सिंहदरबारमा विशेष समारोहबीच गृहसचिव रामेश्वर दंगालबाट प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाएका छन ।
उक्त समारोहमा गृह सचिव रामेश्वर दंगालले नेपाल सरकारले विधि र पद्धतिको आधारमा नेपाल प्रहरी संगठनको प्रमुखको रूपमा नियुक्त गरी प्रहरी महानिरीक्षक कार्कीलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको बताउदै प्रहरी महानिरीक्षक कार्कीको कार्यकालमा समग्र मुलुकमा शान्ति सुरक्षा कायम गर्ने लगायत नेपाल प्रहरीको अन्य जिम्मेवारीहरूमा सफलता मिल्ने विश्वास व्यक्त गर्दै नेतृत्वकालको पूर्ण सफलताको शुभकामना समेत व्यक्त गरेका छन ।
गृह सचिव दंगालले हालको परिस्थितिमा निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुका साथै मुलुकमा भएका विभिन्न खालका विकृति विसंगतिहरूलाई अन्त्य गरेर पूर्णरूपमा सुशासन कायम गर्ने दायित्व सरकारले लिएको उल्लेख गर्दै यस दायित्व निर्वाह गर्नका लागि नेपाल प्रहरीको अहम भूमिका रहेको र यस भूमिका निर्वाह गर्न नेपाल प्रहरी सफल समेत हुने अपेक्षा रहेको बताएका छन । नेपाल प्रहरीको प्राथमिकताहरू, कार्ययोजना, नीतिगत परिवर्तन, नेपाल प्रहरीमा गर्नुपर्ने सुधारका विषयहरू, देखापरेका चुनौति तथा भावी योजनाहरू लगायतका विषयहरूलाई सम्बोधन गर्न गृह मन्त्रालयले सदैव समन्वय, सहजीकरण र सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गरेका छन ।
कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले करिब अठ्ठाइस वर्षको अनुभव, कर्तव्य परायणता, देश र नागरिकको सुरक्षाका खातिर सम्पादन गरेका कार्यको मूल्याङ्कन तथा संगठनप्रतिको निष्ठा र इमान्दारिताको कदर गर्दै नेपाल सरकारले आफूलाई प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गरेका थिए । साथै प्राप्त यस विशिष्ट जिम्मेवारीलाई पेशागत अनुशासन, पारदर्शीता र जवाफदेहिताका साथ वहन गर्दै नागरिक सेवाभावको पूर्ण प्रत्याभूति हुने गरी प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
प्रहरी महानिरीक्षक कार्कीले देशमा सुशासन कायम गर्ने तथा निकट भविष्यमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने नेपाल सरकारको अभिभारा, विभिन्न आयामका सुरक्षा चुनौतिहरूको विद्यमानता र संकट पश्चात उठ्दै गरेका प्रहरीका भौतिक संरचना र मनोबलको सन्दर्भमा प्राप्त यो जिम्मेवारीबाट असाधारण अपेक्षाहरू रहेको तथ्य प्रति पूर्ण रूपमा जानकार र सचेत रहेको बताएका छन ।
असाधारण परिस्थितिमा प्राप्त यस जिम्मेवारीलाई नेपाल सरकार गृह मन्त्रालय, अन्य सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी निकायहरू एवम् समुदायसँग प्रभावकारी समन्वय, सहकार्य सहित संगठनको सुदृढिकरण र सामूहिकता प्रदर्शन गरी प्रहरी कर्मचारीहरूको मनोबल बढाउँदै नेपाल सरकार र आम जनसमुदायको अपेक्षा अनुरूप कार्यसम्पादन गर्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन ।
कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवम् संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीले आजै आफ्नो कार्यकक्षमा पदबहाली गरेका छन ।
प्रहरी महानिरीक्षक कार्की नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्दा प्रहरी अतिरिक्त महानिरीक्षकहरू राजन अधिकारी,डा। मनोज केसी,सुशील सिंह राठौर,उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ, डम्बर विक,सिद्वि विक्रम शाह,प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू तथा जवानहरूले हार्दिक स्वागत गरेका थिए ।
प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण समेत गरेका छन। ।
प्रहरी महानिरीक्षक कार्कीको संक्षिप्त जीवनी
प्रहरी महानिरीक्षक दान बहादुर कार्की आजबाट नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका छन । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ कात्तिक २४ गतेको निर्णयअनुसार उनी नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति भएका हुन।
गुल्मी जिल्लाको साविक घमिर(५ हाल मालिका गाउँपालिका वडा नम्बर ७ मा पिता कृष्ण बहादुर कार्की र माता चन्द्रकला कार्कीको कोखबाट वि।सं। २०२९ साउन १५ गते जन्मिएका प्रहरी महानिरीक्षक कार्कीका श्रीमती नविना कार्की र २ छोरीहरू छन ।
प्रहरी महानिरीक्षक कार्कीले वि।सं। २०५४ चैत १८ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गरेका थिए । प्रहरी सेवामा साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाएका प्रहरी महानिरीक्षक कार्की २०६६ मंसिर २६ गते प्रहरी नायव उपरीक्षक, २०७४ साउन १९ गते प्रहरी उपरीक्षक, २०७९ साउन ३ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०८१ जेठ १३ गते प्रहरी नायव महानिरीक्षक र २०८२ वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका हुन ।
राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका प्रहरी महानिरीक्षक कार्कीले उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम, अप्रेशनल कमाण्ड तथा व्यवस्थापन, सार्वजनिक विरोधहरूमा कानुन कार्यान्वयन संस्थाहरूको भूमिका र उत्तरदायित्व, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, ह्युमन राइट्स इन ल इन्फोर्समेन्ट ट्रेनिङ कोर्ष, कोल्याप्स्ड स्ट्रक्चर सर्च एण्ड रेस्क्यू कोर्ष, प्रशिक्षक प्रशिक्षण तालिम, मेडिकल फस्ट ररेस्पोण्डर कोर्ष, अपराध अनुसन्धान लगायत विभिन्न २२ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेका छन । प्रहरी महानिरीक्षक कार्की प्रवल जनसेवा श्री, संयुक्त राष्ट्र संघ पदक लगायतका विभूषणबाट विभूषित भएका छन ।
यसैगरी उनले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत विभिन्न समयमा नगद पुरस्कार प्राप्त गर्नुको साथै विभिन्न प्रशंसापत्रद्वारा सम्मानित भएका छन ।
अब्बल एवम् कुशल नेतृत्त्वदायी भूमिकामा रहने प्रहरी महानिरीक्षक कार्कीले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा सशस्त्र प्रहरी गण नेपालगन्ज, जिल्ला प्रहरी कार्यालय रूकुम, जिल्ला प्रहरी कार्यालय तनहुँ, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, इलाका प्रहरी कार्यालय आँबुखैरेनी, अञ्चल प्रहरी कार्यालय महाकाली, पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरा, इलाका प्रहरी कार्यालय बुटवल, महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर, जिल्ला प्रहरी कार्यालय सप्तरी, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ, प्रहरी प्रधान कार्यालय लगायतका युनिटमा खटिएर जिम्मेवारी पूरा गर्दै आएका छन ।
प्रहरी उपरीक्षक भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कपिलवस्तु लगायतका कार्यालयहरूमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन ।
प्रहरी वरिष्ठ उपरीक्षक भएपछि उनले कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, नेपाल प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौंमा आफ्नो जिम्मेवारी निर्वाह गरेका छन ।
प्रहरी नायव महानिरीक्षकमा नेपाल प्रहरी प्रधान कार्यालय र लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको कमाण्ड सम्हालेका कार्की २०८२ वैशाख ११ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका थिए । प्रहरी अतिरिक्त महानिरीक्षकमा उनले नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड समेत सम्हालेका थिए ।
यसैबीच नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कार्यालय सहयोगीदेखि वरिष्ठ सइसम्मलाई सहुलियत कर्जाको सुविधा बढाउने निर्णय गरेका छन्।
आज कार्तिक २७ गते बिहीबार प्रहरी प्रधान कार्यालयमा पदभार ग्रहणपछि नीति समन्वय समितिको बैठक राखेर उनले कल्याण कोषबाट दुई लाख रुपैयाँसम्म आकस्मिक कर्जा दिने निर्णय गरेका हुन्। पाँच प्रतिशत ब्याजदरमा तल्लो तहका प्रहरी कर्मचारीले यस्तो कर्जा पाउने भएका छन्।
आकस्मिक अवस्थाका लागि आकस्मिक सहुलियत अल्पकालिजन कर्जा दिने निर्णय भएको प्रहरी प्रवक्ता डिआइजी अबि नारायण काफ्लेले बताएका छन।
यसका लागि चालू आर्थिक वर्षमा अधिकतम १० करोड रुपैयाँ छुट्याउन लागिएको छ। शिक्षा, स्वास्थ्य तथा घरायसी समस्यामा प्रहरी कर्मचारीलाई कार्यविधि बनाएर यस्तो कर्जा दिन लागिएको बताइएको छ।






























