चार एआईजी बढुवाको तयारी
काठमाडौं । भोली भदौ १९ गतेबाट नेपाल प्रहरीमा चार एआईजी पद रिक्त हुँदैछ। गत भदौ १४ गते प्रशासन विभागका एआईजी कृष्णहरि शर्मा पोखरेल ५६ वर्ष उमेर पुगेर अनिवार्य अवकास भएका थिए। आज भदौ १८ गते राती १२ बजेबाट आईजीपी दिपक थापा ३० वर्षे सेवा अवधि पूरा भएर अवकास हुँदैछन।
उनीसँगै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी सुदिप गिरी र उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेक बहादुर तामाङ पनि अवकास हुँदैछन। केन्द्रीय अनुसन्धान व्युरोका एआईजी चन्द्र कुबेर खापुङको आईजीपीमा बढुवा भएपछि नेपाल प्रहरीमा चार एआईजी पद रिक्त भएको छ।
यी रिक्त पदमा २०८१ मंसिरमा डिआईजीमा बढुवा भएका र हाल प्रशासन विभाग अन्तर्गतको आर्थिक प्रशासन महाशाखाका डिआईजी सुशीलसिंह राठौर,मधेस प्रदेशका प्रहरी प्रमुख डिआईजी उमाप्रसाद चतुर्वेदी, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका डिआईजी हिमालयकुमार श्रेष्ठ र सुदुर पश्चिम प्रदेशका प्रहरी प्रमुख डिआईजी डम्बरबहादुर विक मुख्य प्रतिस्पर्धी छन् ।
यी सिनियर डिआईजीहरूलाई पन्छाएर त्यो भन्दा पछिको लटमा डिआईजी बढुवा भएकाहरूबाट एआईजीमा बढुवा हुन सक्ने सम्भावना नभएको गृह मन्त्रालय उच्च स्रोतले बताएको छ।
राठौर,चतुर्वेदी,श्रेष्ठ र विक चारै जना डिआईजी २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत रूपमा सेवा प्रवेश गरेर नेपाल प्रहरीमा २०५८ पुस २८ मा स्थानान्तरण भएका नमस्ते टोलीका सिनियर डिआईजी हुन् ।

उनीहरूसँगै विभागबाट प्रहरीमा भर्ना भएका सिद्धिविक्रम शाह यसअघि नै जेठमा एआईजीमा बढुवा भएर कार्य विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् ।
शाहलाई पनि २०८२ कार्तिक २७ पछिको भावी आईजीपीको प्रतिस्पर्धीेका रूपमा हेरिदै आएको छ । शाह नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा निकट मानिन्छन।
तर कार्तिक २७ पछि मानव स्रोत विभागका एआईजी दान बहादुर कार्की, अपराध अनुसन्धान विभागका एआईजी राजन अधिकारी पनि भावी आईजीपीको कडा प्रतिस्पर्धी हुन।
एआईजी शाह र कार्कीलाई कांग्रेसले र अधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले काखि च्याप्दै आएका छन।
प्रहरीको रिक्त एआईजीमा राठौर, चतुर्वेदी, श्रेष्ठ र विकको बढुवा हुने लगभग निश्चित छ। तर यो लटको एआईजी बढुवामा नमस्ते टोलीका राठौर र चतुर्वेदी दुई जना र सलामी टोलीबाट कोशी प्रदेशका डिआईजी इश्वर कार्की र लुम्बिनी प्रदेशका डिआईजी राजेन्द्रप्रसाद भट्टलाई बढुवा गर्ने चलखेल पनि भैरहेको छ।
नमस्ते टोलीबाट दुई जना र सलामी टोलीबाट दुई–दुई जना बढुवा गर्न गृह मन्त्री रमेश लेखकलाई राजनीतिक दबाब परिरहेको छ।
त्यसो त २०८१ पुस २६ मा डिआईजीमा बढुवा भएका ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेश आचार्य, अरुण पौडेल र गोविन्द थपलियाले आफूलाई बढुवाको प्रतिस्पर्धीको रूपमा लिँदै आएका छन् ।
कार्की हाल कोशी प्रदेश प्रहरी प्रमुख, भट्ट लुम्बिनी प्रदेश प्रहरी प्रमुख, आचार्य गण्डकी प्रदेश प्रहरी प्रमुख, पौडेल बागमती प्रदेश प्रहरी प्रमुख र थपलिया केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत छन् ।
यसैबीच आईजीपी थापालाई आज गृह मन्त्रालयमा गृह सचिव गोकर्णमणी दुवाडी,गृह मन्त्री रमेश लेखकले विदाई गरेका छन।



























