नेप्सेको सीईओ नियुक्तिमा किन ढिलाइ
काठमाडौं । अहिले सेयर बजारमा आकर्षण बढ्दो छ। बजारमा ४५ लाखभन्दा बढी लगानीकर्ता छन्। एकातिर सेयर बजारमा अचाक्ली आकर्षण बढेको छ भने अर्कोतिर बजार नियामक नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लामो समयदेखि नेतृत्व विहीन छन्। दुवै निकायमा नेतृत्व नहुँदा लाखौँ लगानीकर्ता अभिभावकह विहीन भएका छन्।
धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिका लागि सरकार अलमलमा परेको देखिन्छ भने नेप्सेमा सीईओ नियुक्ति प्रक्रिया लम्बिँदै गएको छ।
सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबारमा मुछिएपछि नेप्सेको सीईओ पदबाट चन्द्रसिंह साउदले अनुसन्धानमा सहयोग पुर्याउन भन्दै गत २०७८ भदौ ८ गते राजीनामा दिएका थिए। धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई भने सरकारले गत २०७८ असोज १९ गते बर्खास्त गरेको थियो। ढुंगानाले पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन्।
सर्वोच्च अदालतले केही दिनभित्रै ढुंगानाको रिटमा सुनुवाइ गर्दै आदेश जारी गर्न सक्ने चर्चा चलिरहेको छ।
यता नेप्सेमा सीईओ नियुक्तिको प्रक्रियामा खासै अड्चन नभए पनि लम्बिँदै जानुले भने राजनीतिक हस्तक्षेप त भइरहेको छैन भन्ने आशंका उब्जिएको छ।
नेप्सेमा सीईओ नियुक्तिका लागि सरकारले अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा तीन सदस्य छनोट तथा सिफारिस समिति बनाएको छ।
नेप्सेभित्रकै केही कर्मचारीले नेप्सेको सीईओ पदको चयनका लागि सबै अधिकार नेप्सेको सञ्चालक समितिलाई नै रहेको छ। तर, राजनीतिक स्वार्थ र मोलमलाइका लागि नेप्सेको सीईओ पदमा सत्तामा रहेका दलहरुबीच हानथाप भइरहेको ब्रोकर हाउसदेखि क्लब हाउसहरुसम्ममा चर्चा सुन्न पाइन्छ।
यसरी आफैँ छनोटका लागि तम्सिएको सरकारले विगत ४ महिनादेखि नेप्सेको सीईओ नियुक्त गर्न सकेको छैन। नेप्सेको सीईओ छनोट समितिका संयोजक रमेश केसीले नेप्सेमा सीईओ छनोट प्रक्रिया अझै एक महिना लाग्न सक्ने बताएका छन् ।
हाल परेका आवेदनहरुको अध्ययन र छनौट प्रक्रियामै रहेको छ। सबै प्रक्रिया पुर्याएर छनौट गर्नुपर्ने भएकोले समय लागेको बताइन्छ। अबको एक महिनाभित्र नेप्सेले सीईओ पाउँन सक्छ। नेप्सेको सीईओ पदमा १३ जनाले आवेदन दिएका छन्।
संयोजक केसीले नेप्सेको सीईओ पदमा नियुक्तिका लागि कुनै पनि राजनीतिक दबाब नआएको दाबी पनि गरेका छन।






















