अमेरिकामा डिजेलको मूल्य अहिलेसम्मकै उच्च, प्रतिग्यालोन ५.८५ डलर
इरानमाथि जारी अमेरिका–इजरायल युद्धको असर अमेरिकी उपभोक्ताको खर्चमा देखिन थालेको छ। अमेरिकामा डिजेलको औसत मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।
अमेरिकन अटोमोबाइल एसोसिएसनका अनुसार अमेरिकामा एक ग्यालोन डिजेलको औसत मूल्य ५.८५ अमेरिकी डलर पुगेको छ। एक वर्षअघि यसको औसत मूल्य ३.७१ डलर थियो। यो मूल्य रुसले युक्रेनमाथि पूर्ण रूपमा आक्रमण गरेपछि पुगेको यसअघिको उच्च मूल्यभन्दा पनि बढी हो।
फेब्रुअरीको अन्त्यमा इरानसँगको द्वन्द्व सुरु भएयता इन्धनको मूल्य तीव्र रूपमा बढेको छ। यसको प्रभाव थोक तेलको मूल्यमा समेत देखिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भेनेजुएलासँग भएको तेलसम्बन्धी सम्झौतामार्फत अमेरिकी नागरिकका लागि इन्धनको मूल्यमा उल्लेख्य कमी ल्याउने प्रतिबद्धता जनाएका छन्। अमेरिकाले जनवरीमा भेनेजुएलामाथि आक्रमण गरेको थियो।
शनिबार घोषणा गरिएको सम्झौताअनुसार भेनेजुएलाका प्रमाणित रूपमा ६५ अर्ब ब्यारेल तेलको सम्भावना रहेका १७ रणनीतिक तेलक्षेत्रको विकास गरिनेछ। भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजका अनुसार यसबाट १०० अर्ब डलरभन्दा बढी लगानी तथा २०९ अर्ब डलरभन्दा बढी कर प्राप्त हुनेछ।
अमेरिकी सरकारको भेनेजुएलामा रहेको अनुभवी निजी सञ्चालकसँगको संयुक्त लगानीमा ५५ प्रतिशत नियन्त्रण रहने एक अमेरिकी अधिकारीले अमेरिकी साझेदार समाचार संस्थालाई बताएका छन्।
तर केही विश्लेषकले उक्त सम्झौताप्रति आशंका व्यक्त गरेका छन्। उनीहरूले लामो समयदेखि भेनेजुएलाको तेल उद्योगमा लगानी हुन नदिएका समस्यालाई यो सम्झौताले सम्बोधन गर्न सक्नेमा प्रश्न उठाएका छन्।
तेल सवारीसाधनमा प्रयोग हुने इन्धनको प्रमुख कच्चा पदार्थ हो। युद्धका क्रममा इरानले ओर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द गरेपछि तेलको आपूर्ति सीमित भएको छ।
इरानको दक्षिणमा रहेको यो साँघुरो जलमार्गबाट विश्वमा आपूर्ति हुने कुल तेलको करिब पाँचौँ हिस्सा ओसारपसार हुने गर्छ।
इन्धनको मूल्यमा भएको तीव्र वृद्धिले आगामी नोभेम्बरमा हुने महत्वपूर्ण मध्यावधि निर्वाचनअघि अमेरिकी मतदातामा असन्तुष्टि बढाएको छ।
हालै सार्वजनिक रोयटर्स–इप्सोसको मत सर्वेक्षणअनुसार ट्रम्पको कार्यसम्पादनप्रतिको समर्थन ३३ प्रतिशतमा झरेको छ भने इरानसँगको द्वन्द्वलाई समर्थन गर्ने अमेरिकीको संख्या ३१ प्रतिशत मात्रै छ।
तर सबै अमेरिकीले इन्धनको मूल्यवृद्धिको समान प्रभाव भोगिरहेका छैनन्। अमेरिकन अटोमोबाइल एसोसिएसनका अनुसार पश्चिमी राज्यमा अन्य क्षेत्रको तुलनामा डिजेलको मूल्य धेरै छ। यसको प्रमुख कारण करको फरक दर र अमेरिकी तेल उत्पादक क्षेत्रबाट रहेको दूरी हो।
उदाहरणका लागि वासिङ्टन राज्यमा डिजेलको औसत मूल्य प्रतिग्यालोन ६.८१ डलर पुगेको छ। एक वर्षअघि त्यहाँ यसको मूल्य ५.०३ डलर थियो।
डिजेलसँगै अमेरिकामा पेट्रोलको मूल्य पनि ऐतिहासिक रूपमा उच्च भएको छ। पेट्रोलको औसत मूल्य प्रतिग्यालोन ४.१५ डलर पुगेको छ, जुन एक वर्षअघि ३.२० डलर थियो।























