stcnepal long ad
global ime bank long

बढ्यो निर्जीवन बिमाको बिमाशुल्क

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमै निर्जीवन बिमा व्यवसाय २३ प्रतिशतले बढेर पाँच अर्ब ४० करोड रुपियाँ पुगेको छ ।

नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनमा निर्जीवन बिमा कम्पनीहरूले कुल पाँच अर्ब ४० करोड १५ लाख रुपियाँ बिमाशुल्क सङ्कलन गरेका छन् ।

गत आर्थिक वर्ष २०८२/८३ को साउनमा निर्जीवन बिमा कम्पनीहरूले चार अर्ब ३९ करोड ६७ लाख रुपियाँ बिमाशुल्क सङ्कलन गरेका थिए । हाल नेपालमा १४ वटा ठुला र चार वटा लघु निर्जीवन बिमा कम्पनी गरी १८ वटा कम्पनी सञ्चालनमा छन् ।

व्यवसाय विस्तारको उत्साहसँगै भोटेकोशी बाढीले बिमा कम्पनीमाथि एकै पटक ठुलो दाबी दायित्व थपेपछि निर्जीवन बिमा बजारमा ‘वृद्धि’ भन्दा ‘जोखिम व्यवस्थापन’ प्रमुख चुनौती बन्ने देखिएको छ ।

भोटेकोशी बाढीबाट मात्रै करिब २५ अर्ब ८७ करोड रुपियाँको प्रारम्भिक दाबी परेपछि एक महिनाको व्यवसायभन्दा कैयौँ गुणा ठुलो जोखिम कम्पनीहरूको काँधमा आइपुगेको छ ।

हिमालयन एभरेस्टको सर्वाधिक बिमाशुल्क साउनमा सबैभन्दा धेरै बिमाशुल्क सङ्कलन गर्ने निर्जीवन बिमा कम्पनीमा हिमालयन एभरेस्ट इन्स्योरेन्स रहेको छ । कम्पनीले ५६ करोड २५ लाख रुपियाँ बिमाशुल्क सङ्कलन गरेको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स ५५ करोड ३२ लाख रुपियाँसहित दोस्रो र एनएलजी इन्स्योरेन्स ५३ करोड ४६ लाख रुपियाँसहित तेस्रो स्थानमा छन् ।

त्यस्तै शिखर इन्स्योरेन्सले ५१ करोड २० लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४६ करोड ७६ लाख, आइजिआई प्रुडेन्सियलले ४४ करोड ७१ लाख र दी ओरियन्टल इन्स्योरेन्सले ४४ करोड ३७ लाख रुपियाँ बिमाशुल्क सङ्कलन गरेका छन् ।

नेको इन्स्योरेन्सले ३८ करोड आठ लाख, युनाइटेड अजोडले ३३ करोड २३ लाख, नेसनल इन्स्योरेन्सले २७ करोड दुई लाख र नेपाल इन्स्योरेन्सले २५ करोड २७ लाख रुपियाँ बिमाशुल्क उठाएका छन् ।

सानिमा जिआइसीले २४ करोड तीन लाख, राष्ट्रिय बिमा कम्पनीले १९ करोड दुई लाख र प्रभु इन्स्योरेन्सले १४ करोड छ लाख रुपियाँ बिमाशुल्क सङ्कलन गरेका छन् ।

लघु निर्जीवन बिमातर्फ प्रोटेक्टिभ माइक्रोले दुई करोड २६ लाख, नेपाल माइक्रोले एक करोड ७८ लाख, स्टार माइक्रोले एक करोड ७६ लाख र ट्रस्ट माइक्रोले एक करोड ४९ लाख रुपियाँ बिमाशुल्क सङ्कलन गरेका छन् ।

सम्पत्ति र मोटर बिमामा निर्भर

निर्जीवन बिमा व्यवसायमा सम्पत्ति र मोटर बिमाको हिस्सा सबैभन्दा ठुलो देखिएको छ । साउनमा सम्पत्ति बिमाबाट एक अर्ब ६५ करोड ७५ लाख रुपियाँ र मोटर बिमाबाट एक अर्ब २२ करोड २९ लाख रुपियाँ बिमाशुल्क सङ्कलन भएको छ ।

यस अनुसार सम्पत्ति बिमाको कुल व्यवसायमा ३०.७६ प्रतिशत र मोटर बिमाको २२.६४ प्रतिशत हिस्सा रहेको छ । इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमाबाट ७५ करोड ८७ लाख रुपियाँ सङ्कलन भएको छ; जुन कुल व्यवसायको १४.०५ प्रतिशत हो ।

निर्जीवन बिमा व्यवसाय प्रदेशगत रूपमा पनि असमान देखिएको छ । साउनमा बागमती प्रदेशबाट मात्रै तीन अर्ब ८० करोड ६६ लाख रुपियाँ बिमाशुल्क सङ्कलन भएको छ ।

यो कुल व्यवसायको करिब ७० प्रतिशत हो । कर्णाली प्रदेशबाट भने तीन करोड ९८ लाख रुपियाँ मात्रै बिमाशुल्क सङ्कलन भएको छ । यसले निर्जीवन बिमाको पहुँच अझै सहरी तथा सीमित प्रदेशमा केन्द्रित रहेको देखाउँछ ।

IME Lifesidebar
kumari