उद्योग वाणिज्य महासंघका अध्यक्ष र चिनियाँ राजदूतबीच भेटवार्ता, तातोपानी नाका पुनः सञ्चालनबारे छलफल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच तातोपानी भन्सार नाका सञ्चालनका लागि आवश्यक कूटनीतिक तथा प्राविधिक सहजीकरणबारे छलफल भएको छ ।
छलफलमा अध्यक्ष श्रेष्ठले आपूर्ति शृङ्खलामा देखिएको अवरोध कम गर्न र व्यापारी तथा उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्न तातोपानी नाका तत्काल पुनः सञ्चालनका लागि चिनियाँ पक्षबाट आवश्यक सहजीकरण गर्न आग्रह गरे । उनले कठिन परिस्थितिमा व्यापारिक आवागमन सहज बनाउनुका साथै निजी क्षेत्रको व्यावसायिक आत्मविश्वास कायम राख्न दुवै देशबीच निरन्तर समन्वय आवश्यक रहेको बताए ।
मुख्य उत्तरी व्यापारिक नाकामा रसुवागढी तथा कोरला नाकामा अवरोध आएपछि चाडपर्वको प्रमुख व्यापारिक मौसमअघि नै नेपाल–चीन व्यापार तथा आपूर्ति शृङ्खलामा थप दबाब परेको उनले जानकारी गराए ।
रसुवागढी–केरुङ नाकामा बाढीले क्षति पुर्याएपछि बढेको व्यापारिक चाप कम गर्न तातोपानी भन्सार नाका यथाशीघ्र पुनः सञ्चालन गर्ने विषयमा चिनियाँ पक्ष सकारात्मक देखिएको छ ।
जवाफमा राजदूत झाङले बाढीबाट नेपाल र चीन दुवैतर्फ भएको मानवीय तथा आर्थिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै व्यापारिक मार्ग यथाशीघ्र सञ्चालनमा ल्याउन चिनियाँ र नेपाली अधिकारीहरूबिच संयुक्त रूपमा स्थलगत निरीक्षण भइरहेको जानकारी दिए ।
सडक तथा अन्य पूर्वाधारको मर्मत र पुनर्स्थापनाका लागि चिनियाँ पक्षले द्रुत कार्य टोली परिचालन गरेको उल्लेख गर्दै उनले जनजीवन र आवागमन सहज बनाउन आवश्यक पहल भइरहेको बताए ।
भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी–केरुङ नाकातर्फको पुल, भन्सार कार्यालय, सुख्खा बन्दरगाह (आईसीडी) तथा काठमाडौंलाई चीनको सीमासँग जोड्ने करिब १४५ किलोमिटर सडकखण्डमध्ये ४५ किलोमिटर क्षेत्रमा क्षति पुर्याएको छ ।





















