वीरगन्ज नाकाबाट १० अर्ब २२ करोडको दलहन आयात
वीरगंज । मुलुकको प्रमुख व्यापारिक स्थल नाका वीरगन्जबाट गत आर्थिक वर्षमा १० अर्ब २२ करोड रुपैयाँभन्दा बढीको दलहन आयात भएको छ । भारत तथा तेस्रो मुलुकबाट मुसुरो, सिमी–राज्मा, चना, रहर, केराउ र बकुल्ला लगायत दलहन आयात भएको हो ।
वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार अघिल्लो आवमा ११ अर्ब ४ करोड ६१ लाख रुपैयाँ बराबरको १० करोड १९ लाख किलो दलहन आयात भएकामा गत आर्थिक वर्षमा १० अर्ब २२ करोड रुपैयाँ बराबरको १० करोड २७ लाख किलो आयात भएको छ ।
यसअनुसार अघिल्लो आवको तुलनामा गत आर्थिक वर्षमा दलहन आयातको परिमाण ८ लाख किलोले बढेको छ भने आयात मूल्य भने करिब ८२ करोड ६१ लाख रुपैयाँले घटेको छ ।
आयात परिमाण बढे पनि मूल्य घट्नुको मुख्य कारण अन्तर्राष्ट्रिय तथा भारतीय बजारमा दलहनको मूल्यमा आएको गिरावट हुन सक्छ । अघिल्लो आर्थिक वर्षमा प्रतिकिलो औसत करिब १ सय ८ रुपैयाँ ४० पैसा परेको दलहन गत आर्थिक वर्षमा करिब ९९ रुपैयाँ ५० पैसाको औसत मूल्यमा आयात भएको देखिन्छ । अर्थात् प्रतिकिलो औसत आयात मूल्य करिब ८ प्रतिशत घटेको छ ।
तथ्यांकअनुसार दलहनका विभिन्न बस्तुमध्ये मुसुरो, सिमी–राज्मा, अन्य गेडागुडी र रहरको आयात मूल्यमा कमी आएको छ । चनाको आयात भने अघिल्लो आवको तुलनामा बढेको देखिन्छ । केराउ र बकुल्लाको आयातमा पनि परिमाण तथा मूल्यमा फरक–फरक प्रवृत्ति देखिएको छ ।
गत आवमा सबैभन्दा बढी ४ अर्ब २१ करोड रुपैया बराबरको ४ करोड ६४ लाख किलो मुसुरो आयात भएको छ । अघिल्लो आवमा ४ अर्ब ८१ करोड रुपैया बराबरको ४ करोड ८५ लाख किलो मुसुरो आयात भएको थियो । त्यसैगरी, गत आर्थिक वर्षमा २ अर्ब ६५ करोड रुपैया बराबरको २ करोड १५ लाख किलो सिमी,राज्मा आयात भएको छ । अघिल्लो आवमा २ अर्ब ९७ करोड रुपैयाँ बराबरको २ करोड ३६ लाख किलो सिमी,राज्मा आयात भएको थियो ।
गत आवमा ४६ करोड १५ लाख रुपैया बराबरको ३५ लाख ४१ हजार किलो अन्य गेडागुडी आयात भएका छन् । अघिल्लो आवमा ५५ करोड ६२ लाख रुपैयाँ बराबरको ४० लाख २५ हजार किलो अन्य गेडागुडी आयात भएको थियो ।
गत आर्थिक वर्षमा ३४ करोड २९ लाख रुपैयाँ बराबरको २९ लाख ८५ हजार किलो रहर आयात भएको छ । अघिल्लो आवमा ३५ करोड ८६ लाख रुपैयाँ बराबरको २७ लाख ६२ हजार किलो रहर आयात भएको थियो ।
नेपालमा खपत हुने अधिकांश दलहन आन्तरिक उत्पादनले मात्र धान्न नसक्ने भएकाले भारतसहित तेस्रो मुलुकबाट आयात हुँदै आएको छ । वीरगन्ज नाका भारतसँगको स्थलमार्गबाट हुने व्यापारका साथै तेस्रो मुलुकबाट आउने वस्तुको प्रमुख प्रवेशद्वार भएकाले खाद्यान्न तथा दलहन आयातको ठूलो हिस्सा यही नाकाबाट हुने गरेको छ ।
गत आवको तथ्यांकले भने दलहनको मागमा कमी आएको संकेत गर्दैन । आयातित परिमाण बढेकाले बजारमा यसको माग यथावत् रहेको देखिन्छ । तर मूल्य घटेका कारण समानभन्दा बढी परिमाण आयात हुँदा पनि कुल आयात मूल्य अघिल्लो वर्षभन्दा कम भएको हो ।
दलहन नेपाली उपभोक्ताको दैनिक खाद्य उपभोगको महत्त्वपूर्ण हिस्सा हो । मसुरो, चना, केराउ, रहरलगायतका दाल तथा गेडागुडीको माग वर्षभरि रहने भएकाले यसको आयातमा भएको उतारचढावले बजार मूल्य र उपभोक्ताको खर्चमा समेत प्रभाव पार्ने गर्छ ।





















