शेयर बजार अब ओरालो लाग्ने
५१ कम्पनीको सेयर लगानी जोखिमयुक्त
काठमाडौं। सेयर बजारमा असार ६ गते आइतबार ६३ अंकको गिरावट आएको छ। नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको सेयर लगानी जोखिमयुक्त रहेको भन्दै रातोसूची प्रकाशित गरेपछि ५२ अंक मात्रै घटेको बजार आइतबार भने थप ६३ अंकले घटेको छ।
तीन हजार अंक माथि पुगेको शेयर बजारमा लामो समय सम्म करेक्सन नआएकोले अहिलेको करेक्सनले बजार थप मजबुत भएको एकथरी लगानीकर्ताको भनाई छ । तर अर्को थरी लगानीकर्ता भने बैंकिङ क्षेत्रमा तरलता अभाव देखिएपछि त्यसको असर सेयर बजारमा देखिएको बताउँछन्।
बैंकिङ क्षेत्रमा असार महिनामा कर बुझाउने,ऋणको किस्ता र व्याज तिर्ने, बाँकी रकम भुक्तानी गर्ने हुँदा बैंक तथा वित्तिय संस्थामा तरलता अभाव हुन्छ । यो समयमा बैंक तथा वित्तिय संस्थाहरूले शेयरमा कर्जा लगानी गर्दैनन्,यश शिर्षकमा कर्जा रकम सकिएको हुन्छ।
धितोपत्र बोर्डको रातोसूचीकै कारण बजार घटिरहेको इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले आरोप लगाएका छन् ।
बोर्डको काम सहि भएपनि नामै तोकेर रातोसूची सार्वजनिक गर्दा अहिलेको समस्या देखिएको रौनियारको टिप्पणी छ । बोर्डले बजारलाई नियमन गर्नुपर्नेमा नियन्त्रण गर्न खोजेको उनले आरोप लगाएका छन्।
बजारलाई बलियो बनाउन र लगानीकर्ताको आत्मबल बढाउन बोर्डले रातोसूची फिर्ता लिएर आत्मालोचना गर्नुपर्ने पनि रौनियारको भनाई छ । आइतबार नेप्से सूचक ६३ अंकले घटेर २९०५ बिन्दुमा रोकिएको छ । एक समय ८६ अंक सम्म घटिसकेको बजार अन्तिम ५ मिनेटमा केही सम्हालिएपछि ठूलो अंकको गिरावटबाट जोगिएको थियो।
कारोबारमा आएका ५ कम्पनी बाहेक सबै कम्पनीको सेयर मूल्य घटेको छ। दिनभर नेगेटिभ सर्किटमा कारोबार भइरहेको गोर्खाज फाइनान्सको सेयर मूल्य अन्तिममा सर्वाधिक मूल्य बढेर बन्द भएको थियो। यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतले बढेको छ । नेशनल र रुरु हाइड्रोपावरको सेयर मूल्य ३/३ प्रतिशतले बढ्दा तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य २ प्रतिशतले बढेको छ।
सर्वाधिक मूल्य घट्नेमा युनियन हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले घट्दा श्री इन्भेष्टमेन्ट कम्पनी, बरुण हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपरको सेयर मूल्य ८/८ प्रतिशतले घटेको छ।
सबै उपसमूह राताम्मे हुँदा जीवन बीमा समूहमा सर्वाधिक ३१० अंकको गिरावट आएको छ। निर्जीवन बीमा समूहमा २८० अंकको गिरावट आउँदा विकास बैंक, हाइड्रोपावर र लघुवित्त समूहमा पनि १०० देखि १६५ अंक सम्मको गिरावट आएको छ।
नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक करिब ८१ करोड रुपैयाँको सेयर किनबेच हुँदा नेपाल इन्स्योरेन्सको ४३ करोड, नेशनल हाइड्रोपावरको ३३ करोड, एनएलजी इन्स्योरेन्सको २८ करोड र हिमालयन डिष्टिलरीको २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
२३१ कम्पनीको सेयर कारोबारमा आएकोमा ५ वटा कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ ।
आज दुई करोड ७३ लाख कित्ता सेयर एक लाख २४ हजार पटकको किनबेच हुँदा ११ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको छ । कारोवार रकम पनि करिव आधा जस्तै घटेको छ । दैनिक १९–२० अर्वको शेयर कारोवार हुँदै आएकोमा गत साताको अन्तिमदेखि कारोवार रकम पनि घटेको छ ।
विश्लेषकहरूले विना कुनै आधार बढेको शेयर बजार अब निषेधाज्ञा खुकुलो हुँदै जादा निरन्तर घटने बताउन थालेका छन् । यसमा धितोपत्र बोर्डको रातोसूची बहान भएको मात्र हो।