रसुवागढी नाकामा ट्रान्सपोर्ट एजेन्टको मनलाग्दी
काठमाडौ । चिनियाँ पक्षले कोभिड–१९ का कारण रसुवागढी नाका पारी स्वास्थ्य प्रोटोकल अपनाउँदा रसुवा नाका हुँदै कारोबार गर्ने नेपाली व्यवसायी महंगो भाडा तिर्न बाध्य बनेका छन् । रसुवा नाकाबाट भित्रिने सामग्री बोकेका कन्टेनरमा चिनियाँ ट्रान्सपोर्ट एजेन्टले जथाभावी भाडा दर तोक्दा केरुङ–रसुवा अन्तर्गत २६ किलोमिटर सडकको भाडा करिब नौ लाख रुपैयाँ तिर्न व्यवसायी बाध्य बनेका छन ।
सिन्धुपाल्चोकको तातोपानी नाका २०७२ को भुकम्पपछि बन्द जस्तै भएपछि र सामग्री भित्र्याउने रसुवागढी बाहेक अर्को विकल्प नभएकै कारण चिनियाँ पक्षले एकलौटी रुपमा भाडादर बढाएका छन ।
जसको मार नेपाली व्यापारी र आम उपभोक्तामा पर्न गएको छ। कोभिड–१९ का कारण अहिले नेपाली व्यवसायी चीनतर्फ जान पाउँदैनन् ।
कोभिड–१९ कै कारण चीनले आफ्नो क्षेत्रमा नेपाली व्यापारी भित्र्याएको छैन । गोदाममा रहेका सामग्री चिनियाँ ट्रान्सपोर्ट एजेन्टले नाकासम्म ल्याइदिने गरेकाले उनीहरूले एकतर्फी रुपमा भाडा दर बढाएका छन,नेपाली आयातकर्ता चिनियाँ कन्टेनर व्यवसाीले जतिभन्यो उति ढुवानी भाडा तिर्न वाध्य हुदै आएका छन् ।
केरुङबाट नाकासम्मको भाडा अहिले चिनियाँ ट्रान्सपोर्ट एजेन्टले ५० हजार चिनियाँ मुद्रासम्म लिने गरेको व्यवसायीहरूले बताएका छन ।
यो रकम करिब नौ लाख नेपाली रुपैयाँ हुन आउँछ । रसुवागढी नाकाबाट दशैंलाई लक्ष्यित गरि अहिले अधिकांश रेडिमेड लत्ताकपडाका सामग्री भित्रिरहेका छन् । नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुन सापकोटाले सिजनका सामग्री भएकाले व्यवसायीले झण्डै नौ लाख नेपाली रुपैयाँ भाडा तिरेर भएपनि ल्याउन बाध्य भएको बताएका छन् ।
दसैं, तिहार,छटपर्व र जाडो लक्षित सामग्री अहिले तुरुन्तै नभित्र्याए व्यवसाय डुब्ने अवस्थामा पुग्ने हुँदा व्यवसायी महंगो भाडा तिर्न बाध्य बनेको सापकोटाले बताएका छन ।
कन्टेनरमा डेढ करोडसम्मको सामान हुन्छन्,बरु महंगो भाडा तिरेर भएपनि सामान बिक्री गर्नका लागि व्यवसायीले कन्टेनर भित्र्याएका छन् ।
सामग्री नल्याए करोडौं रुपैयाँ ऋण लिएर नेपाल ल्याउन लागेको सामान बिक्री गर्न नसक्दा ब्याज तिर्न समेत हम्मे हुने भएकै कारण महंगो शुल्क तिर्न व्यवसायी बाध्य भएको बताइन्छ ।
राजधानीका महाबौद्धका व्यापारीहरुले महंगो भाडा तिरेरै भएपनि सामग्री भित्र्याइरहेका छन् । भाडा महंगो भएकै कारण यो नाका हुँदै व्यापार गर्ने व्यवसायीहरुले सामग्री ल्याएका छैनन् । रसुवागढी नाकाबाट भाडा दर महंगो छ, यो दरमा सामग्री ल्याउँदा नाफा बस्दैन, ८–९लाख रुपैयाँ भाडा तिरेर सामग्री लोड गर्न नसकिने व्यापारीहरू बताउछन।
नेपाली व्यवसायी सामग्री लोड गर्न जान नपाएका कारण भाडा दर वृद्धि गरिएको छ । यसअघि केरूङवाट यो सडक खण्डको भाडा दर प्रति कन्टेनर दुई हजारदेखि पच्चीस सयसम्म चिनियाँ मुद्रा पर्दथ्यो ।
रसुवागढीतर्फको भाडा दर घटाउने बारे नेपाल तर्फबाटै चासो नभएको व्यवसायीको गुनासो रहेको छ । भाडा दर घटाउनका लागि दुई देशका उच्च अधिकारीहरु बीचको बैठकमा छलफल हुनु जरुरी छ । यो अवस्था तातोपानी नाका बन्द भएकै कारण सिर्जना भएको हो, सुरक्षा सतर्कता अपनाएर तातोपानी नाका सूचारु गरेको खण्डमा समस्या समाधान हुन सक्छ ।
नेपाली व्यवसायीको पीडालाई सम्बोधन गर्न नेपाल सरकारकै तर्फबाट ल्हास्सास्थित महावाणिज्य दूतावासमा अनुरोध गरिएपनि कुनै सुनुवाई भएको छैन । नेपाली अधिकारीहरुले व्यापार सहजीकरणका लागि भाडा दर घटाउन तत्काल कदम चाल्नुपर्दछ ।
बाढी पहिरोका कारण बन्द भएको तातोपानी नाकाबाट कारोबार नभएपछि सिन्धुपाल्चोकका अधिकांश व्यवसायी रसुवागढी नाकाबाटै सामग्री भित्र्याउने गर्दथे । गएको असार २५ गते अरनिको राजमार्गमा आएको बाढी पहिरोले सडक कटान गरेपछि तातोपानी नाका पुन बन्द हुन पुगेको छ।
केही दिन अघि नाका पुनः सुचारु गरिएपनि सामान लोड अनलोड गर्ने कर्मचारीमा कोरोना संक्रमण भएपछि एक दिनमै नाका फेरि बन्द गरिएको थियो । चीनबाट स्थलमार्ग हुँदै सामग्री ल्याउने तातोपानी र रसुवा दुई नाका मात्र हुन ।
यसअघि केरुङसम्म सामग्री लोड गर्न नेपाली व्यवसायी जाने गर्दथे । अहिले नेपालीलाई चीनतर्फ प्रवेश निषेध गरिएको छ । चिनियाँहरुसमेत रसुवा नाकामा तीन लेयरको पीपीई सेट लगाएर काम गर्ने गर्दछन् । पैसा तिरेर गोदाममा रहेका सामग्री भित्र्याउन नपाउँदा व्यवसायी मर्कामा परेका हुन् ।
अत्यावश्यक सामग्रीसमेत गोदाममा थन्किएकाले व्यवसायीले महंगो भाडा तिरेर भएपनि सामान ल्याउन बाध्य छन। अहिले रसुवा नाकाबाट दैनिक हाराहारी १० कन्टेनर नेपाल भित्रन्छन् । यसअघि ३० भन्दा बढी कन्टेनर सामग्री बोकेर नेपाल भित्रने गरेका थिए ।
रसुवा भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले अहिले दैनिक एक करोड बराबरको राजस्व संकलन हुने गरेको बताएका छन। ।
भाडा दर बढेकै कारण अहिले नेपाल भित्रिने कन्टेनरमा कमी आएको हुन सक्दछ । यसअघि २ करोड भन्दा बढी राजस्व उठ्थ्यो । अहिले यो नाका हुँदै लत्ताकपडा, स्वास्थ्य सामग्री, कच्चा पदार्थका सामान भित्रिएको प्रमुख खड्काले जानकारी दिएका छन ।
नेपाली व्यवसायीका अनुसार चीनमा करिब एक हजार दुई सय कन्टेनर सामग्री अड्किएको छ ।






















