stcnepal long ad
ime life insurance
national life
global ime bank long

चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा ५.१ प्रतिशत आर्थिक वृद्धिदर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा पाँच दशमलव एक प्रतिशतको आर्थिक वृद्धि अनुमान हासिल भएको अनुमान गरिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सार्वजनिक गर्दै यातायातलगायत केही क्षेत्रमा राम्रो सुधार देखिए पनि जिडिपीमा सामान्य वृद्धि हासिल भएको जनाएको हो । यद्यपि, यो मौसमी प्रभाव समायोजन नगरिएको वृद्धिदर हो ।

दोस्रो त्रैमासिकको मौसमी प्रभाव समायोजनपछिको जिडिपी वृद्धिदर भने दुई दशमलव दुई प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

“दोस्रो त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा यातायात, निर्माण क्षेत्र, कृषि, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धिसँगै वित्तीय मध्यस्थताको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेका छन्”, कार्यालयले भनेको छ, “खासगरी यस अवधिमा शिक्षा, आवास तथा भोजन र अन्य सेवा क्षेत्रमा उल्लेख्य वृद्धि हुन नसकेकाले अर्थतन्त्रको वृद्धिदर सामान्य रहन गएको अनुमान रहेको छ ।”

मौसमी प्रभाव समायोजित तथ्याङ्कका आधारमा कुल १८ ओटा औद्योगिक क्षेत्रमध्ये दुई ओटामा ऋणात्मक वृद्धिको अनुमान गरिएको छ । विद्युत् तथा ग्यास क्षेत्रमा चार दशमलव आठ प्रतिशत र आवास तथा भोजन क्षेत्रमा दुई दशमलव सात प्रतिशतको ऋणात्मक वृद्धि देखिएको छ ।

मौसमी प्रभाव समायोजन नगरिएको तथ्याङ्क अनुसार यातायात तथा भण्डारणसँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै १४ दशमलव दुई प्रतिशत वृद्धिदर रहेको छभने खानी तथा उत्खनन क्षेत्र नौ दशमलव पाँच प्रतिशत वृद्धिदरसहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र रहेको छ ।

यसैगरी, निर्माण सामग्रीहरूको आयात तथा घरेलु उत्पादनको वृद्धिसँगै निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर नौ दशमलव एक प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।

उत्पादनमूलक उद्योगको वृद्धिदर सात दशमलव चार प्रतिशत र निक्षेप तथा कर्जामा भएको वृद्धिका कारण वित्तीय तथा बिमा क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर छ दशमलव छ प्रतिशत हुने अनुमान गरिएको छ । व्यापार क्षेत्रको वृद्धिदर छ दशमलव एक र सूचना तथा प्रविधि क्षेत्रको वृद्धिदर चार दशमलव नौ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।

मुलुकको अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुर्‍याउने कृषि क्षेत्रको वृद्धिदर तीन दशमलव दुई प्रतिशत मात्र हुने प्रारम्भिक अनुमान गरिएको छ ।

“धानको उत्पादनमा भएको वृद्धिका साथै तरकारी, अमिलो जातको फलफूल तथा हिउँदे फलफूल र पशुपक्षीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको देखिन्छ”, सार्वजनिक विवरणमा भनिएको छ ।

अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्रका रूपमा रहेको थोक तथा खुद्रा व्यापार क्षेत्रमा स्वदेशी उत्पादनमा भएको वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको वृद्धिका कारण केही विस्तार देखिएको जनाइएको छ ।

यस्तै, औद्योगिक वस्तुको उत्पादनमा क्रमिक सुधार आएका कारण उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिमा उल्लेख्य सुधार हुन गएको प्रारम्भिक अनुमान छ ।

दोस्रो त्रैमासिकमा सार्वजनिक प्रशासन तथा रक्षा दुई दशमलव दुई, स्वास्थ्य तीन दशमलव एक, घरजग्गा कारोबार तीन दशमलव एक प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

 

IME Lifesidebar
kumari