अबको बजेट लगानी दशकको रूपमा आउनुपर्छ : महासंघ अध्यक्ष चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र ढकालले आगामी आर्थिक वर्षको बजेट लगानी दशकको रूपमा आउनुपर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको प्रि–बजेट राउन्टेबल कार्यक्रममा ढकालले मौद्रिक नीति र बजेटको तालमेल मिल्ने गरी बजेट ल्याउन जरुरी रहेको बताउँदै अबको बजेट लगानी दशकको रूपमा आउनुपर्ने बताएका हुन् ।
कम्तीमा १०० जनालाई रोजगारी दिने उद्योग छ भने बजेटमार्फत त्यसलाई सहुलियत दिन आवश्यक रहेको बताउँदै उनले अघिल्लो बजेटले मर्जलाई छुट दिने, पछिल्लो बजेटले कर लगाँउदा यसले नकारात्मक सन्देश गएको स्मरण गराए ।
अहिले धेरै नियामक हुने हुँदा समस्या सृजना हुने गरेको र यसलाई एकै निकायबाट नियमन हुने व्यवस्था मिलाउन पनि उनले सुझाव दिएका छन् ।
चैत मसान्तसम्मको बैंकको रिपोर्ट धेरै चिन्ताजनक रहेको चर्चा गर्दै अध्यक्ष ढकालले भने, ‘चैत मसान्तसम्मको रिपोर्टहरू हेर्दा धेरै बैंकको नाफा घटेकोे देखिन्छ ।
वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । बैंकमा समस्या आए त्यसले धेरै क्षेत्रमा असर पार्छ यी विषयलाई पनि सरकार र सरकारको बजेटले सम्बोधन गर्नुपर्छ ।’
उनले नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोषले पूर्वाधार क्षेत्रमा लगानी गर्ने नीति लिनुपर्ने धारणा पनि अघि सारेका छन् ।