कुमारी क्यापिटलका ३ वटा म्युचुअल फन्डको नगद लाभांश खातामा जम्मा
काठमाडौं । कुमारी क्यापिटलका ३ वटा म्युचुअल फन्डले आफ्ना इकाईधनीलाई नगद लाभांश खातामा पठाएका छन् । कुमारी सुनौलो योजना, कुमारी इक्विटी फन्ड र कुमारी धनवृद्धि योजनाले नगद लभांश इकाईधनीको खातामा जम्मा गरिदिएका हुन् ।
३ वटै फन्डले डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको प्रतिफल खातामा पठाएको जनाएका छन् ।
यता, फन्डको योजना व्यवस्थापक कुमारी क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ । यसका लागि इकाईधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ ।
यसैगरी, हालसम्म हितग्राही खाता नखोलेका इकाईधनीले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने कुमारी क्यापिटलले जनाएको छ ।
कुमारी सुनौलो योजना, कुमारी इक्विटी फन्ड र कुमारी धनवृद्धि योजनाले गत वर्षको नाफाबाट क्रमशः कर सहित १०.५० प्रतिशत, ९.५० प्रतिशत र ९.५० प्रतिशत वितरण गर्ने घोषणा गरेका थिए ।