नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा १ अर्ब ९१ करोड १० लाख रुपैयाँ लगानी गर्दै
राष्ट्र बैंकले २०८१ वैशाख २ गतेदेखि २०८२ वैशाख १ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा १ अर्ब ९१ करोड १० लाख रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषहरुमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको जानकारी दिएको छ ।
राष्ट्र बैंकले २०८१ वैशाख २ गतेदेखि २०८२ वैशाख १ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । उक्त रकममध्ये वाणिज्य बैंकमा १ अर्ब ५२ करोड ८९ लाख रुपैयाँ, विकास बैंकमा २८ करोड ६६ लाख रुपैयाँ र फाइनान्समा ९ करोड ५५ लाख रुपैयाँ निक्षेप राख्ने राष्ट्र बैंकले जनाएको छ ।
मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चैत ८ गते राती १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ ।
आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्थाको निष्कृर्य कर्जा कुल कर्जा सापटको ५५ भन्दा कम भएको हुनुपर्नेछ ।
यसैगरी, न्यूनतम पुँजी कोष कायम गरेको, रियल इस्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने, कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमाभित्र हुनुपर्ने लगायतका शर्त केन्द्रीय बैंकले तोकेको छ ।