सञ्चालक वित्तीय अपराधमा जोडिएपछि सुपर लघुवित्त वित्तीय संस्था राष्ट्र बैंक नियन्त्रणमा
Nepal Rastra Bank
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिलाई निलम्बन गरी उक्त संस्थाको व्यवस्थापन नियन्त्रणमा लिएको छ ।
दाङको तुलसीपुरमा रहेको संस्थाको व्यवस्थापन सञ्चालनका लागि बैंकबाट व्यवस्थापन समूह नियुक्त गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले विभिन्न चरणमा गरिएका स्थलगत निरीक्षणका क्रममा सुपर लघुवित्त वित्तीय संस्थाका संस्थापक तथा सञ्चालकहरूले लामो समयदेखि कृत्रिम ऋणी खडा गर्दै ऋण प्रवाह गर्ने गरेको जनाएको छ ।
उक्त ऋणको साँवा तथा ब्याज चुक्ता गर्न पुनः थप कृत्रिम ऋणी खडा गर्दै ऋण प्रवाह गर्ने गरेको लगायतका गम्भीर प्रकृतिका अपराधजन्य कार्य गरेको पाइएको राष्ट्रले जनाएको छ ।
संस्थाका जिम्मेवार पदाधिकारीहरुबाट भए गरेका कार्यहरुबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख को खण्ड (क), (ख), (घ), (च) तथा (ञ) मा भएका अवस्थाहरु संस्थामा विद्यमान रहेको देखिएको तथा निजहरुबाट संस्था सञ्चालन हुनसक्ने स्पष्ट आधार समेत नदेखिएको जनाएको छ ।
२०७९ असोजमा संस्थाको प्राथमिक पुँजीकोष ३४.३० प्रतिशत र पुँजीकोष ३२.६५ प्रतिशतले ऋणात्मक रहेको, संस्थाको बचत समेत क्रमिक रुपमा घट्दै गइरहेको तथा आन्तरिक नियन्त्रण प्रणाली र संस्थागत सुशासनसमेत कमजोर देखिएको वस्तुस्थितिका आधारमा संस्थालाई यथास्थितिमा राख्दा बचतकर्ता, सापटी प्रदान गर्ने संस्थाहरु तथा लगानीकर्ताको समेत हित प्रतिकूल हुने देखिएकोले राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंक ऐनको दफा ८६ ग को उपदफा १ को खण्ड (ण) मा भएको प्रावधानबमोजिम संस्थाको विद्यमान सञ्चालक समितिलाई निलम्बन गरी उक्त संस्थाको व्यवस्थापन मिति माघ २३ बाट नियन्त्रणमा लिई बैंकबाट नियुक्त अधिकारी (व्यवस्थापन समूह) नियुक्त गरी सोही समूहमार्फत संस्थाको व्यवस्थापन सञ्चालन गर्ने व्यवस्था गरिएको जनाइएको छ ।

























