काठमाडौंको सडक गल्लीमा थुप्रिएको सबै फोहोर उठाउन १० दिन लाग्ने
काठमाडौं। काठमाडौंको सडक गल्लीमा थुप्रिएको सबै फोहोर उठाउन १० दिन लाग्ने भएको छ। लामो समयदेखि फोहोर थुप्रिएका कारण उठाउन समय लाग्ने भएको हो।
काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले शुक्रबार १ सय ५३ र शनिबार करिब २ सय ५० ट्रक फोहोर बन्चरे ल्यान्डफिल साइटमा खसालेको थियो। बन्चरेडाँडा ल्यान्डफिल साइटका इन्जिनियर सरकारद्वीप श्रेष्ठले अब दैनिक करिब ३ सय ट्रिपर फोहोर विसर्जन गर्ने जानकारी दिए।
उनका अनुसार शुक्रबार बिहान १ बजे स्थानीय र कामपाबीच १८ बुँदे सहमति भएलगत्तै सडकमा थुप्रिएको फोहोर ल्यान्डफिल साइटमा लगिएको हो। मौसमले साथ दिएमा अबको १० दिनभित्र उपत्यकाको सबै सडकमा थुप्रिएको फोहोर ल्यान्डफिल साइटमा व्यवस्थापन गरिसक्ने उनको दाबी छ।
कामपाले स्थानीयसँग सम्झौता भएलगत्तै सबै वडा कार्यालयलाई तत्काल फोहोर उठाउने व्यवस्था गर्न निर्देशन दिएको थियो ।सोही अनुसार सबै वडाले फोहोर मैला व्यवस्थापनलाई पहिलो प्राथमिकता दिएको हो।
बिहीबार राति १ बजे भएको सम्झौतामा एक महिनाभित्र गाडीबाट पोहोर मैलाको फोहोर पानी (लिचेड) नबग्ने गरी फोहोर ढुवानी गर्न सवारी साधन व्यवस्था गर्ने, ३ महिनाभित्र सडक र बत्तीको व्यवस्थापन गर्ने, दुई महिनाभित्र लिचेडको वैज्ञानिक व्यवस्थापन गर्ने, ३ महिनाभित्र बन्चरे डाँडा वरपरका घरटहरा क्षतिपूर्ति सम्बन्धी निर्णय गर्ने उल्लेख छ। यी सबै काम कामपाले गर्ने स्थानीयले जानकारी गराएका छन्।
























