चिनीको मूल्य बोरामा दुई सय वृद्धि
अहिले भारतबाट चिनी आयात नभइरहेका बेला व्यापारीले भने पुरानै मौज्दात चिनीको मूल्य वृद्धि गरेको उपभोक्ता र खुद्रा व्यापारीहरूको आरोप रहेको छ ।
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत सातादेखि चिनीको मौज्दात सकिएपछि चिनी बिक्री बन्द गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनका उपमहानिर्देशक कुमार राजभण्डारीले चिनीको मौज्दात सकिएकाले बिक्री गर्न नसकिएको बताएका छन ।
राजभण्डारीले भने–“गएको सातासम्म प्रतिकेजी ७९ रुपियाँमा प्रतिव्यक्ति दुई केजीका दरले चिनी बिक्री गर्दै आएका थियौँ । अब सबै चिनी मौज्दात सकियो ।”
अहिले भारतबाट चिनी आयात नभइरहेका बेला व्यापारीले भने पुरानै मौज्दात चिनीको मूल्य वृद्धि गरेको उपभोक्ता र खुद्रा व्यापारीहरूको आरोप रहेको छ ।
विगतमा सरकारले बजारमा चिनीको मूल्य वृद्धि नियन्त्रणका गर्न साल्ट ट्रेडिङ कर्पोरेसनलाई सहुलियत भन्सार दरमा चिनीको आयात गर्न दिएको थियो ।
तर चालू आर्थिक वर्षमा साल्ट ट्रेडिङलाई चिनी आयातका लागि अर्थ मन्त्रालयले स्वीकृति नदिँदा बजारमा चिनीको मूल्य महँगिएको उपभोक्ता अधिकारकर्मीहरूले बताउँछन् ।
उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले सरकारको अदूरदर्शी निर्णयका कारण उपभोक्ता मारमा परेको बताएका छन । साल्ट ट्रेडिङ कर्पोरेसनसँग चिनी नभएको मौका छोपी चिनी उद्योगी, मुनाफाखोर व्यापारीले बजारमा चिनीको मुल्य मनलाग्दी बढाउदै आएको महर्जनले बताएका छन।
उपभोक्ता अधिकारकर्मी महर्जनले बजारमा चिनीको अभाव हुन नदिन र बजार मुल्य नियन्त्रण गर्न सरकारले तत्काल साल्ट ट्रेडिङ कर्पोरेसन वा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई भन्सार छुटमा केही समयभित्र २५/३० हजार मेट्रिक टन चिनी आयात अनुमति दिनुपर्ने बताएका छन ।
कोरोना महामारी र रूस– युक्रेन युद्धले अहिले विश्व बजारमा खाद्यान्न निर्यातमा केही देशले नियन्त्रण गरेका छन। भारतले चिनी, गहुँ, मैदा,चामल निर्यातमा रोक लगाएको छ। यसले नेपालमा चिनी सहित खाद्यान्न अभाव हुन सक्ने,मैदा उद्योगहरू बन्द हुन सक्ने चर्चा पनि भैरहेको छ।
यही कारण बजारमा निजी व्यापारीको मनोमानी नियन्त्रण गर्न जरुरी रहेको भन्दै उपभोक्ता अधिकारकर्मी महर्जनले भने– “यस विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूलाई भेटेरै खाद्य कम्पनी वा साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत तेस्रो मुलुकबाट भएपनि चिनी ल्याउनु पर्छ भनेर ध्यानाकर्षण गराइसकेका छौँ ।”
साल्ट ट्रेडिङ कर्पोरेसनमा चिनी मौज्दात सकिएको र भारतले चिनी निर्यातमा रोक लगाएपछि थोक व्यापारीले प्रतिबोरा चिनीमा दुई सय रुपियाँसम्म महँगो लिन थालेको खुद्रा व्यापारीहरूले बताएका छन् ।
नेपाल खुद्रा बजार संघका पूर्व अध्यक्ष पवित्र वज्राचार्य बजारमा चिनीका उद्योगी र ठूला व्यापारीले चिनीमा चलखेल गर्न थालिसकेको बताएका छन ।
भारतले आफ्नो देशलाई चिनी नपुग्ने आंकलन गर्दै केही दिनदेखि चिनी निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ । यसको असर नेपाली बजारमा देखा पर्न थालिसकेको छ ।
यसअघि प्रतिकेजी ९० देखि ९५ रुपियाँमा खरिद गर्दै आएका उपभोक्ताले एक(डेढ सातायता प्रतिकेजी चिनीको मूल्य एक सय रुपियाँ तिर्न बाध्य भएका छन् ।
खुद्रा व्यापारीले पहिले आयात भएको चिनीलाई नै बढी पैसा तिरेर पनि माग अनुसारको परिमाणमा खरिद गर्न नपाएको गुनासो गरेका छन् । एक खुद्रा व्यापारीले भने– तीन बोरा चिनी माग गरेकामा एक बोरा मात्रै पाएको र त्यो पनि प्रतिबोरामा दुई सय रुपियाँ मूल्य बढी तिरेर मात्र पाइएको छ ।
उनले भने–थोकबाटै मूल्य बढेर आएपछि खुद्रामा मूल्य बढाउन बाध्य भएका छौं। पहिले प्रतिबोरा चार हजार ५ सय ५० रुपियाँ खरिद मूल्य रहेकामा अहिले प्रतिबोरा चार हजार ७ सय ५० पर्न रूपैयाँ थालेको छ। त्यो पनि माग गरेअनुसार बेला सजिलै पाइँदैन ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा ४८ हजार मेट्रिक टन चिनी मौज्दात रहेको बताउँदै आएको छ ।
वाणिज्य मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले लगभग तीन महिनालाई पुग्ने चिनी मौज्दात रहेकाले चिनी लुकाएर कालोबजारी गर्नेलाई कारबाही हुने बताएकी छिन । तर सरकारले मूल्य बृद्वि नियन्त्रणमा गर्न सकेको छैन।
चिनी उद्योगी भने भारतले निर्यातमा प्रतिबन्ध लगाए पनि तत्काल बजारमा चिनीको अभाव नहुने बताउछन् । स्वदेशी चिनी उद्योगले चिनीको मूल्य नबढाएको दाबी गरेपछि पनि बजारमा ठूूला व्यवसायीले भएको चिनी लुकाउन थालेका छन्।
नेपाल चिनी उत्पादन संघका अध्यक्ष शशिकान्त अग्रवालले चिनी लुुकाएर महँगोमा बिक्री गरेको भन्ने आरोपमा कुनै सत्यता नभएको बताएका छन ।
नेपालमा वार्षिक दुई लाख ८० हजार मेट्रिक टन चिनीको माग रहेको छ । त्यस मध्ये १ लाख ५० हजार मेट्रिक टन चिनी नेपाली उद्योगहरूले उत्पादन गरि माग धान्छन भने करिव १ लाख ३० हजार मेट्रिक टन चिनी विदेशबाट आयात गर्नु पर्दछ।
चालू आर्थिक वर्षमा भारतबाट करिब ९० हजार मेट्रिक टन अर्थात नौ करोड केजी चिनी आयात भइसकेको छ । यस बाहेक भारतबाट विभिन्न सीमा नाकाबाट तस्करीको चिनी ठूलो मात्रामा नेपाल भित्रिने गरेको छ ।
बजारमा चिनीको अभाव हुन र मूल्य बृद्वि हुन नदिन सरकारले अबिलम्व तेस्रो मुलुकबाट ५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्न साल्ट ट्रेडिङ कर्पोरेसनलाई अनुमति नदिने हो भने यसपालि भदौ– असोज चार्डवार्डतिर चिनीको मूल्य आकासिने र कालो बजारी समेत हुन सक्ने उपभोक्ता अधिकारकर्मीहरू बताउछन।






















