आज शुक्रबारबाट संस्थागत श्रम स्वीकृतिका लागि अनलाइन प्रणाली सुरु
काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलमा आज शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको सुरु भएको छ । सरकारले अब वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको संस्थागत श्रम स्वीकृति (पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति) अनलाइन प्रणाली लागू गरेको हो ।
शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको शुभारम्भ गरेका हुन् ।
शुभारम्भ कार्यक्रममा बोल्दै श्रममन्त्री श्रेष्ठले सरकारले अहिले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको हक हितभन्दा बाहेक अन्य कुनै पनि निर्णय नगर्ने बताए ।
उनले सरकारले संस्थागत रुपमा श्रम स्वीकृति अनलाइन प्रणाली लागू गर्दा मेनपावर कम्पनीका प्रतिनिधिहरुको रोजगारी गुमेको गुनासो आउन थालेको बताए ।
मन्त्री श्रेष्ठले मेनपावरका कर्मचारीहरुलाई बेरोजगार बनाउने उद्देश्यले नभएर प्रणालीलाई सिस्टममा ल्याउँदा यस्तो अवस्था आएको दाबी गरे ।
वैदेशिक रोजगार कार्यालयहरुले अब वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको काममा ढिला सुस्ति र कसैलाई दुःख दिने कुरा मनैदेखि हटाउन कर्मचारीहरुलाई निर्देशन दिए । अब सरकारले वैदेशिक रोजगारीसम्बन्धि सबै कामहरु अनलाइन प्रणालीमार्फत् गर्ने तयारीमा मन्त्रालय रहेको मन्त्री श्रेष्ठको भनाइ छ ।
त्यस्तै, वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख रमेश अर्यालले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणाली लागू भएसँगै सेवाग्राही, मेनपावरका प्रतिनिधिहरुले आफ्नो कार्यालयबाट नै काम गर्न सकिने बताए ।
उनले संस्थागत श्रम स्वीकृति अनलाइन मार्फत् हुँदा सेवाग्राहीहरुले छिटो, छरितो र गुनासोरहित सेवा हुने अपेक्षा कार्यालयको रहेको बताए । कार्यालय प्रमुख अर्यालले चालू आर्थिक वर्षको ९ महिना अर्थात् साउनदेखि चैत मसान्तसम्म ४ लाख ६४ हजार ४ सय २५ श्रम स्वीकृति भएको बताए ।
कार्यालय प्रमुख अर्यालले अबको एक हप्ता पछि व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइन प्रणालीबाट नै गर्ने तयारीमा कार्यालय रहेको जानकारी दिए ।

























