माओवादी केन्द्रको आठौं महाधिवेशन आजदेखि सुरु हुँदै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आजबाट सुरू हुने प्रथम राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको छ।
माओवादी केन्द्रकाे हिजाे शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनमा परिणत गर्ने टुङ्गो लगाएको छ। तर, त्यसको निर्णय आज बिहान बसेकाे केन्द्रीय समितिको बैठकबाट गरेको छ। सम्मेलनलाई आठौँ महाधिवेशनमा रूपान्तरण गर्ने भएको छ।
हिजाे शनिबार साँझसम्म माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलन भन्दै आएको थियो। माओवादी केन्द्रकाे आठौं महाधिवेशनको उदघाटन आज हुँदैछ। चिनियाँ सर्वोच्च नेता माओत्सेतुङको १२२ ओैं जन्मदिन डिसेम्बर २६ अर्थात पुस ११ को अवसर पारेर महाधिवेशनको उदघाटन गरिँदै छ।
आठौं महाधिवेशनले नयाँ विचारसहितको नयाँ क्रान्तिकारी पार्टी बनाउने घोषणा गरेको छ। नयाँ विचार भनेकाे के हाे माओवादी केन्द्रले स्पष्ट गरिसकेकाे छैन्। महाधिवेशनलाई विचार र नयाँ राजनीतिक कार्यदिशा निर्माणमा केन्द्रित गरिने जनाएको छ।
नयाँ नेतृत्व भनिएकाे छ तर अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डको विकल्प नखाेजिने बताइएकाे छ। बहुपदिय पदाधिकारीमा जाने अर्थात १५ सदस्यीय पदाधिकारी बनाएर त्यसमा सबै पदाधिकारीका आकांक्षीहरूलाई समेटने र २९९ सदस्यीय केन्द्रीय समिति बनाएर सबैकाे भागबन्डा पुरयाउने नेतृत्वको चाहनालाई प्रचण्डले सैद्धान्तिकरण र दस्तावेजिकरण गर्दै नयाँ नेतृत्व भनेका हुन।
महाधिवेशन उदघाटन अपराह्न ३ बजे प्रज्ञा भवन कमलादीमा हुनेछ । उदघाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रमुखलाई अतिथिका रूपमा निमन्त्रण गरिएको माओवादी केन्द्रले जनाएकाे छ।
तर नेकपा( एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रचण्डको महाधिवेशनमा नजाने भएका छन। माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति २९९ सदस्यीय हुने भएकाे छ । जसमा १५ जना पदाधिकारी रहनेछन् ।
माओवादी केन्द्रको महाधिवेशन सुरु हुनुअघि आज आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारीसहित केन्द्रीय कार्यसमितिको संख्या निर्धारण गरेको छ । बैठकले पारित गरेको विधानअनुसार माओवादी केन्द्रमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहनेछ ।
यस अघि माओवादी केन्द्रमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक महासचिव रहने व्यवस्था थियो । माओवादीले एमालेकै विधानअनुसार पार्टीको विधान संशोधन गरेको बताइएकाे छ । केन्द्रीय समितिको बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने स्थायी कमिटी बैठकको प्रस्तावलाई अनुमोदन गरेको छ ।
काठमाडौं । आजदेखि नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन काठमाडौंमा शुरु हुदैछ । यसअघि राष्ट्रिय सम्मेलन भनिएकोमा हिजो बसेको स्थायी कमिटीको निर्णयबाट यसलाई महाधिवेशनमा परिणत गरिएको हो ।
महाधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठानमा कमलादीमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे उदघाटन गर्नुहुने कार्यक्रम छ । महाधिवेशनमा देशभरी तथा अन्तराष्ट्रिय समेत गरी करीव १ हजार ६ सय ३१ जना प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।
विचारको नयाँ संश्लेषण गर्दै समाजबादको नयाँ आधार तय गर्ने लक्ष्यसहित माओवादी केन्द्रले महाधिवेशन लागेको हो । गत मङ्सिर ४ गते वडासम्मेलन शुरु गरेको माओवादीले मङ्सिर ११ गते देशभर पालिका सम्मेलन आयोजना गरेको थियो । यस्तै मङ्सिर २५ गते प्रदेश सम्मेलन सम्पन्न गरेको थियो ।
यसअघि हिजो पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय सम्मेलनबाट गरिने निर्णयहरु भन्दा महाधिवेशनले गर्ने निर्णयहरु उच्चस्तरको हुने भएकाले पार्टीको संगठन, योजना, कार्यक्रम, राजनीतिक विश्लेषण तथा रणनीति लगायतका विषयमा उच्चस्तरको निर्णय गर्न आवश्यक देखिएकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेसनमा रुपान्तरण गरिएको सो पार्टीले जनाएको छ ।
स्थायी कमिटिको सो निर्णयलाई अनुमोदन गर्न आज विहान केन्द्रीय कमिटिको बैठक बस्दैछ । केन्द्रीय कमिटी बैठकले राष्ट्रिय सम्मेलनमा अध्यक्ष प्रचण्डले पेश गर्ने राजनीतिक प्रतिवेदन पारित गर्ने बुझिएको छ ।
त्यस्तै बैठकले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको अन्तिम टुङ्गो लगाउने पार्टी प्रवक्ता कृष्णवहादुर महराले बताउनुभयो ।
महाधिवेशनले विभिन्न प्रस्तावहरुमा छलफल गरी आवश्यक निर्णयहरु गर्नुका साथै पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको छनौट गर्ने सो पार्टीले जनाएको छ ।


























