सरकारका पछिल्ला कदमले सेयर बजार केही सच्चिदै
सेयर बजार पुस ६ गते मंगलबार दोहोरो अंकले उकालो लागेको थियो
काठमाडौं। निरन्तर घटिरहेको नेपालको सेयर बजारमा हिजो एकएक चमक आयो। हिजोको सेयर नेप्सेको बढाइ र दिनभरको कारोबारले सेयर बजारमा एक किसिमको स्थिरता पनि देखिएको छ।
सेयर बजार पुस ६ गते मंगलबार दोहोरो अंकले उकालो लागेको थियो। हिजो सेयर बजार ५६.७३ अंकले उकालो लागेको थियो। योसँगै नेप्से परिसूचक २४१५.५५ को विन्दुमा उक्लिएको छ ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ११.३४ अंकले बढेर ४६२.५२ को विन्दुमा पुगेको छ। कारोबार रकम सवा २ अर्ब रुपैयाँ बढीको कारोवार भएको थियो।
तरलता सहज पार्न सरकारबाट चालिएका पछिल्लो कदमकै कारण बजार हिजो सकारात्मक बनेको हो। अर्थ मन्त्री जनार्दन शर्माले सबै मन्त्रालयले पुस मसान्तसम्म ३० प्रतिशत पुँजीगत खर्च गर्न भन्नु र अर्थ मन्त्रालयले स्थानीय तहको ८० प्रतिशत रकम निक्षेपका रुपमा बैंकले राख्न पाउने निर्णय कार्यान्वयन गर्न भन्नुले नै बजार सकारात्मक बन्यो । तरलता सहज बनेमा सेयर बजार सकारात्मक हुनेछ।
बजार धेरै घटिरहेकोले अब घट्न रोकिने स्थिति छ। सरकारका सकारात्मक पहलले बजार बढ्न टेवा पुग्ने देखिन्छ।
अहिले भनेको सेयर छानीछानी किन्ने अवसर रहेको छ। यतिबेला कम्पनीका सेयरभाउ १२०० को इक्डेक्समा रहेको सरह छ, त्यसैले अहिले सेयर उठाउँदा राम्रै कमाइ हुन सक्छ ।
सक्रिय लगानीकर्ताहरू एमसीसीको पैसा आउला भन्ने आशाले पनि बजार बढेको मान्छन।
यद्यपि अहिले बजारमा कारोबार गर्दा निकै विचार पुर्याउनु पर्छ । राम्रा र बलिया कम्पनीको सेयर छानीछानी उठाउने अवसर छ। दीर्घकालीन लगानीका लागि अहिले सेयर उठाउँदा राम्रो हुन्छ।
हिजो नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको थियो। हिजो अन्य समूह सर्वाधिक ३.८८ प्रतिशतले उकालो लागेको थियो।
जलविद्युत समूह ३.६३ प्रतिशतले बढेको हिजो बैंकिङ समूहमा २ प्रतिशत, व्यापार समूहमा २.९२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.९ प्रतिशत, विकास बैंक समूहमा ३.४१ प्रतिशत, वित्त समूहमा १.८२ प्रतिशत, निर्जीवन बीमा समूहमा २.०४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.९७ प्रतिशत, लघुवित्त समूहमा २ प्रतिशत, जीवन बीमा समूहमा १.६७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.८४ प्रतिशत र लगानी समूहमा १।९३ प्रतिशतको बढोत्तरी भएको थियो।
हिजो नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका ४९ लाख ६४ हजार २५३ कित्ता सेयर २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४६.९९ रुपैयाँमा किनबेच भएका थिए। हिजो हिमालयन डिस्टिलरीको सर्वाधिक १४ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भएको थियो।
नबिल बैंकको १४ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। पुस ६ गते नेपाल टेलिकमको १० करोड ३९ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको ७ करोड ५५ लाख रुपैयाँ, एनएमबि बैंकको ६ करोड ४८ लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकको ६ करोड ४५ लाख रुपैयाँ, छिमेक लघुवित्तको ५ करोड ८३ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ५ करोड ४१ लाख रुपैयाँ, एचआईडीसीएलको ५ करोड ३६ लाख रुपैयाँ र आईसीएफसी फाइनान्सको ५ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको थियो।
हिजो २ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशत र जानकी फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा घटेको छ।
सेयर बजार जानकार र विश्लेषकहरुले हिजोको नेप्सेको बढाइबाट केही आशा गर्न सकिने बताएका छन्। केहीले भने हिजोको बढाइलाई यो पुसको महिना पनि भएकोले केही टाठाबाठाले ब्याज तिर्ने पैसा निकाल्ने रणनीतिका रुपमा पनि लिएका छन्।
केही बजार जानकारहरुले अर्थ मन्त्रालयबाट पुँजीगत खर्च बढाउन गरेको पहल र स्थानीय तहको ८० प्रतिशत रकम बैंकले निक्षेपका रुपमा गणना गर्न पाउने व्यवस्था कार्यान्वयन गर्न लगाउनु तथा आयात प्रतिस्थापनका लागि राष्ट्र बैंकले गरेको केही कडाई सहितको नयाँ व्यवस्थाले बजार सकारात्मक बनेको बताउँछन्। यी पहलबाट तरलता सहज हुँदै जाने र सेयर बजार पुनः लयमा फर्किने उनीहरुको विश्लेषण रहेको छ।
बजार जानकारहरू भन्छन( मिडियाहरुमा आएका सकारात्मक समाचारकै प्रभावका कारण सेयर बजार बढेको बताउँछन्। जहाँसम्म सरकारले पुस मसान्तसम्म ३० प्रतिशत पुँजीगत खर्च गर्ने भन्ने विषय छ, यो अलि विश्वासिलो देखिन्न।
किनकि विगत पाँच महिनासम्म गर्न नसकेको पुँजीगत खर्च एकै महिनामा गर्ने भन्ने विषय हस्यास्पद नै हो।
सरकारले आयात रोक्दा देशमा महँगी बढ्ने सम्भावना छ। यो अवस्थामा सरकाले खासगरी खर्च बढाउनतिर ध्यान दिनुपर्छ। आजको बढाइमा भोलुम नआएकोले ठूला लगानीकर्ता बिश्वस्त भएजस्तो देखिँदैन। हिजो पनि सेयर बजारका ठूलाभन्दा साना लगानीकर्ता हौसिएकोजस्तो देखिन्छ।
स्थानीय निकायमा जाने रकमले सीडीमा गणना गर्ने विधिले जम्मा ५० अर्ब तरलता थपिने छ। अहिलेको तरलता संकटमा यो धेरै ठूलो नहुन पनि सक्छ। सरकारले गरेका पछिल्ला गतिविधिले देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको छ।
अहिलेको समयमा लगानीकर्ताले ट्रेडिङभन्दा इन्भेस्टमेन्ट गर्नु उपयुक्त हुने हुन्छ। पछिल्ला कदमहरुबाट सरकार पुँजीबजारप्रति सकारात्मक रहेको बुझिन्छ । तरलता व्यवस्थापन गर्न सरकारले जुन उपायहरु अवलम्बन गरेको छ, त्यसले आमलगानीकर्तामा सकारात्मक सन्देश दिन खोजेकोजस्तो देखिन्छ ।
यही कारणले अब बजार धेरै नघट्ने सम्भावना देखिन्छ। अहिलेको अवस्थामा आफ्नो स्वपुँजी लगाउनलाई डराउनु पर्दैन।किनकि अझै ठूलो बुल आउन बाँकी नै छ । अब फागुन–चैतबाट फेरि बुल सुरु हुने सहज अनुमान गर्न सकिन्छ। निरज रञ्जितबाट


























