citizens life insurance long ad

नेपाल उद्योग वाणिज्य महासंघले घटिरहेको सेयर बजारप्रति चासो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । केही दिनयता घटिरहेको सेयर बजारप्रति नेपाल उद्योग वाणिज्य महासंघले चासो देखाएको छ । पुँजी बजारको विद्यमान अवस्थाबारे आफ्नो ध्यानाकर्षण भएको महासंघले  (सोमबार) जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘मूलतः अर्थतन्त्रको अवस्था र लगानीकर्ताको मनोविज्ञानले प्रभाव पार्ने बजारको स्वच्छ स्वस्थ र प्रतिस्पर्धी विस्तार एवं विकासका लागि नीतिगत स्थायित्व र प्रस्टता आवश्यक रहन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘केही समय यताको नीतिगत अस्थिरताका कारण पनि पुँजी बजारमा उतार चढाव आएको महसुस गरिएको छ ।’

मूल्यजस्तो संवेदनशील विषयमा अन्य निकायको हस्तक्षेप हुनु, बैङ्क तथा वित्तीय र बिमा कम्पनीको लगानी सीमालाई संकुचन गरिनु, सेयर धितो कर्जामा लगाइएको एकल ग्राहक कर्जा सीमा तोक्नु, सूचीकृत कम्पनीले आफ्नो आवश्यकता अनुसार हकप्रद तथा अन्य विधिबाट पुँजी सङ्कलन गर्न रोक लगाउनुलगायत कारण बजार घटेको महासंघले जनाएको छ ।

‘विद्युत् नियमन आयोगबाट संस्थागत लगानीकर्ताले खरिदबिक्री गर्दा १५ दिनअगाडि नै स्वघोषणा गर्नुपर्ने व्यवस्था जस्ता विभिन्न नीतिगत परिवर्तनका कारण सेयर बजारमा असर परेको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सेयर बजार परिसूचक घटबढ हुने क्रममा भदौ पहिलो सातायता समग्रमा पुँजी बजार ओरालो लागेको देखिन्छ । यसले आम लगानीकर्तालाई समेत सशङ्कित बनाएको देखिन्छ ।’

पुँजी बजारसम्बन्धी नीति नियम बनाउँदा सरोकारवालासँग पनि छलफल र विमर्श गर्न महासंघले आग्रह गरेको छ । ‘पुँजी बजारमा जोखिम पनि रहने हुँदा लगानीकर्तालाई आफूले कारोबार गर्न खोजेको कम्पनीबारेको वित्तीय लगायत आवश्यक जानकारी हासिल गरी विवेकपूर्ण लगानी गर्न हुन पनि महासंघ आग्रह गर्दछ,’ महासंघले भनेको छ ।

बजार व्यवस्थित बनाउन आवश्यक अन्य नीतिगत व्यवस्था, पर्याप्त सूचना प्रवाह हुने संयन्त्रको निर्माण, प्रविधिको उच्चतम प्रयोग र नयाँ लगानीका साधन एवं उपकरण बढाउन पनि सम्बन्धित निकायसमक्ष महासंघले माग गरेको छ ।

IME Life
kumari