काठमाडौं कांग्रेसमा प्रकाशमानको बचस्व
काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं जिल्लामा असोज १६ गतेबाट नगर अधिवेशन शुरू भएको छ । संघीय राजधानी समेत रहेको काठमाडौंमा एक महानगरपालिका र १० नगरपालिका रहेका छन् ।
जसमध्ये हिजो ७ बटा नगरपालिकामा नगर अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ। आज काठमाडौं महानगरपालिका,चन्द्रागिरी,किर्तिपुर नगरपालिकामा नयाँ नेतृत्व चयन गर्न अधिवेशन सम्पन्न गरि नगर निर्वाचन हुँदैछ ।
कांग्रेसको केन्द्रमा प्रष्ट तीन गुट देखिएपनि काठमाडौैंमा भने दुई समूहबीच प्रतिस्पर्धा भएको छ । काठमाडौंको संस्थापन भनेर पूर्वमहामन्त्री तथा वरिष्ठ केन्द्रीय सदस्य प्रकाशमान सिंहको समूहलाई चिनिन्छ ।
उनलाई विगतमा भीमसेनदास प्रधान र गगन थापाहरुको समूहले चुनौती दिने गरेको थियो । तर यो पटक प्रधान सभापति शेरबहादुर देउवा समूहसँग नजिक छन् भने थापा प्रकाशमान तिर नजिकिएका छन् । किर्तिपुर,दक्षिणकाली नगरको सभापतिका लागि प्रकाशमान समूहकै नेताहरुबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
देशकै सबैभन्दा ठूलो काठमाडौं महानगरपालिकाको नेतृत्वका लागि आज दुई समूहबीच प्रतिस्पर्धा हुदैछ । काठमाडौं महानगरको नेतृत्वका लागि १५ वर्षपछि हुन लागेको निर्वाचनमा संस्थापन समूहबाट युवा नेता प्रगतिमान रञ्जित प्रतिस्पर्धामा छन् ।
उनी नेपाल तरुण दल काठमाडौंका संस्थापक अध्यक्ष हुन् । उनलाई सिटौला समूहका नेता भिमसेनदास प्रधानको समर्थन रहेको छ । काठमाडौं महानगरपालिकाको सभापतिमा अर्का प्रत्यासी कांग्रेसका पुराना नेता नीलकाजी शाक्य रहेका छन् ।
काठमाडौं महानगरपालिका–२५ का वडाध्यक्ष समेत रहेका शाक्य पूर्वमहामन्त्री सिंहका उम्मेदवार हुन् । उनले नै महानगरको सभापति जित्ने सम्भावना छ।
बुढानीलकण्ठ नगरपालिकाको सभापतिमा राजाराम बुढाथोकी विजयी भएका छन। उनी प्रकाशमान सिंह र गगन थापा पक्षका हुन। उनका प्रतिस्पर्धी राजन बुढाथोकी र राजुविक्रम थापा थिए। राजाराम साविकको कपन गाउँ विकास समितिका इकाई सभापति हुन् ।
दक्षिणकाली नगरपालिकामा हिजो रोकिएको २ नं वडाको अधिवेशन सम्पन्न भएको छ। यो नगरपालिकामा सहमतिबाटै सभापतिमा मोहन बहादुर बस्नेत चयन हुने सम्भावना रहेको छ ।
यस नगरपालिकाको नगर सभापतिमा अहिलेसम्म मेयर मोहन बहादुर बस्नेतको मात्रै दाबी देखिएको छ । उनी प्रकाशमान सिंह निकट हुन् । संस्थापन समूहले श्याम कार्कीलाई उम्मेदवार बनाउन खोजेपनि उनले बस्नेतलाई समर्थन गरेका छन् ।
हिजो सम्पन्न गोकर्णेश्वर नगर अधिवेशनबाट सभापतिमा संस्थापन समूहका रामजी कुमार श्रेष्ठलाई हराउदै प्रकाशमान सिंह समूहबाट कुमार लामा विजयी भएका छन। लामा पेट्रोल पम्प व्यवसायी हुन् । उनी यसअघि नगर समितिका कोषाध्यक्ष पनि थिए ।
कागेश्वरी–मनोहरा नगरपालिकामा हिजो सम्पन्न अधिवेशनबाट शेर बहादुर देउवा समुहका उद्धव दाहाल नगर सभापतिमा विजयी भएका छन। उनलाई काठमाडौं क्षेत्र नं २ का क्षेत्रीय सभापति उपेन्द्र कार्कीको समर्थन थियो। प्रकाशमान सिंहका समर्थक मिठाराम दाहालले सभापतिमा हारेका छन्।
कीर्तिपुर नगरपालिकाको नगर सभापतिमा राजेन्द्र महर्जन, कविन्द्र कार्की, मीनप्रकाश महर्जन लगायतले उम्मेदवारी दिएका छन। यी आकांक्षी प्रकाशमान सिंह निकट भएकाले सहमतिबाटै नेतृत्व चयनको प्रयास भइरहेको छ ।
यसैगरि नागार्जुन नगरपालिकामा पनि अच्यूत पाण्डे र दुर्गा प्रसाद गौतम विजयी भएका छन। गौतमका प्रतिस्पर्धी अच्युत पाण्डे थिए। गौतम प्रकाशमान सिंह निकट हुन् ।
शंखरापुर नगरपालिकाको नगर सभापतिमा संस्थापन इतर समूहका दिलीपकुमार श्रेष्ठ विजयी भएका छन्। उनी प्रकाशमान सिंह निकटका हुन। श्रेष्ठका प्रतिद्वन्दी देउवा समुहबाट सत्यमान लामा उम्मेदवार बनेका थिए। श्रेष्ठ शंखरापुर नगरपालिका–७ मा वडाअध्यक्ष पदमा पराजित उम्मेदवार हुन् ।
टोखा र तारकेश्वर नगरपालिका पूर्व रक्षा मन्त्री कृष्ण प्रसाद सिटौला समूहका नेता भीमसेन दास प्रधानको समुहले सभापतिमा जितेका छन्। यी दुई नगरपालिका प्रधानको निर्वाचन क्षेत्र हो ।
यी दुबै नगरमा पूर्व महामन्त्री प्रकाशमान समूहका उम्मेदवारले नगर सभापतिमा हारेका छन।
तारकेश्वर नगरपालिकाको नगर सभापतिमा प्रधान समूहका कृष्णहरि महर्जनले चुनाव जितेका छन्।
यसअघि महर्जन काठमाडौं क्षेत्र नं.७ को क्षेत्रीय समितिका कोषाध्यक्ष थिए । नगर सभापतिका प्रकाशमान सिंह निकट उम्मेदवार श्रीराम थापाले चुनाव हारेका छन । उनी अघिल्लो स्थानीय चुनावमा मेयरका उम्मेदवार थिए ।
यस्तै टोखा नगरपालिकाको नगर सभापतिमा प्रधानको समूहका ओमकृष्ण विमलीले चुनाव जितेका छन् । उनी यस अघि इकाई सभापति थिए। त्यस्तै प्रकाशमान सिंह समर्थन दीपक जोशी पराजित भएका छन । उनी यसअघि टोखा नगरसमितिको वडा नम्बर २ का सभापति थिए ।
चन्द्रागिरी नगरपालिकामा आज नगर निर्वाचन हुँदैछ। सहमतिमै नेतृत्व चयनको सम्भावना रहेको छ। यस नगरपालिकमा नगर प्रमुख घनश्याम गिरी सहमतिमा नगर सभापति बन्ने सम्भावना रहेको छ। यिनी पनि प्रकाशमान निकट हुन। नगर सभापतिमा गिरीकै पक्षमा सर्वसम्मत हुँदैछ।






















