चिनीको स्टक सकियो
काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले भन्सार छुटमा चिनी आयातको अनुमति माग गरेको करिब पाँच महिना पुग्न लागेको छ ।
तर सरकारले यश विषयमा अझै निर्णय गर्न नसक्दा आगामी तीज,दशैं,तिहार र छठपर्वमा बजारमा चिनीको चरम अभाव, व्यापक मूल्य बृद्वि हुने र चिनीको कालो बजारी हुन सक्ने व्यापारीहरूले बताउन थालेका छन् ।
गत २०७८ बैशाखमा ५० प्रतिशत भन्सार छुटमा चिनीको आयात गर्न अनुमति मागेको साल्ट ट्रेडिङ कर्पोरेशनलाई अर्थ मन्त्रालयको बेवास्ताका कारण अझै अनुमति दिइएको छैन ।
बजारमा चिनीको चरम अभाव हुन सक्ने भन्दै आयातको अनुमति माग गरेको लामो समयसम्म सरकारले चिनी खरिदकोे अनुमति नदिदा आगामी तिज, दशैं, तिहार र छठपर्व लगायतका चाडपर्वमा चिनीको अभाव हुने सम्भावना देखिएको छ ।
कर्पोरेशनले गरेको प्रस्तावका आधारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत बैशाखमा अर्थ मन्त्रालयसँग चिनी खरिदको अनुमति माग गरेको थियो ।
स्वदेशी उत्पादनले बजारको मागलाई नधान्ने भएपछि र बजारमा मूल्य बढन नदिन ५० प्रतिशत भन्सार छुटमा विदेशबाट चिनी खरिद गर्न साल्ट ट्रेडिङ कर्पोरेशनलाई अनुमति दिने माग गर्दै उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालयमा पत्र लेखेको थियो ।
तर अहिलेसम्म अर्थ मन्त्रालयले आयातको अनुमति नदिएको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्य बताए । यसमा के भएको छ हामी बुझ्दैछौ उनले भने।
कति परिणाम चिनी आवश्यक पर्छ अध्ययन विना ५० प्रतिशत भन्सार छुटमा चिनीको आयात अनुमति दिन नमिल्ने अर्थ मन्त्रालयको लङगडो तर्कले देशमा चाडपर्वका बेलामा चिनीको चरम अभाव, मूल्य बृद्धि र कालो बजारी हुने संकेत देखिएको छ ।
यस विषयमा अर्थ मन्त्रालय स्रोतले राजश्वको विषय भएकाले स्वदेशी चिनीको मौज्दातका आधारमा थप निर्णय हुने दावी गरेको छ । यो विषयमा सम्बन्धित महाशाखाले थप अध्ययन गर्दैछ । तत्काल आयातको अनुमति दिइने छैन।
अर्थका अधिकारीहरू भन्सार छुटमा चिनी आयात गर्न सकारात्मक छैनन । अर्थका अधिकारी नयाँ र अनुभवीहिन धेरै भएकाले पनि उपभोक्ता र जनताको माग प्रति जिम्मेवार हुन सकिरहेका छैनन्।
कुन समयमा कुन खाद्य वस्तुको माग र अभाव हुन्छ भन्ने कुरामा पुरै अनभिज्ञ अधिकारीको भिड अर्थ मन्त्रालयमा लागेकाले पनि लठभद्र थपिएको छ ।
उनीहरूले देशको माग र खपतलाई बुझ्न सकेनन तर आपूर्ति मन्त्रालयले समयमै पत्र लेखी चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिएर समयमा चिनी आयात गरि उपभोक्तालाई सहज आपूर्ति मिलाउन पत्रचार गर्दा समेत पाँच–पाँच महिना पत्रलाई पेण्डिङमा राखेर कुशासन र लापर्वाही तथा गैर जिम्मेवारीको चरम नमुना देखाएका छन।
तत्काल अनुमति नपाए दशैंमा चिनीको चरम अभाव हुने
तत्काल अर्थ मन्त्रालयबाट चिनी आयातको अनुमति नपाए आगामी तिज, दशैं, तिहार र छठ पर्वमा चिनीको चरम अभाव हुने साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले जनाएको छ । कर्पोरेशनका सूचना अधिकारी कुमार राजभण्डारीले तत्काल अनुमति नपाए दशैं लगायत चाडपर्वमा चिनी आयातको सम्भावना कम रहने बताए ।
अर्थ मन्त्रालयबाट स्वीकृति आएपछि कर्पोरेसनले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्छ । न्यूनतम ४५ दिनको अवधि राखेर सूचना प्रकाशन गरेर आवश्यक अन्य प्रक्रिया पूरा गरि खरिद गर्न समय कम हुन्छ,अहिलेको अवस्था कायम रहे दशैंमा साल्ट ट्रेडिङ कर्पोरेसनसँग चिनी मौजाद हुँदैन । कर्पोरेसनका प्रवक्ता राजभण्डारीले भने– लामो समय भयो आयातका अनुमति माग गरेको, हामीसँग स्टक सकिसकेको छ ।’
कर्पोरेशनले अनुमति मागेको करिब पाँच महिनासम्म थप चिनी खरिदको अनुमति नपाउँदा निजी क्षेत्रका व्यवसायीहरुले चिनीको मूल्य बढाउँन थालेका छन् । सरकारी कम्पनीको मौज्दात सकिन लागेको मौकामा चिनी व्यापारीहरुले मूल्य बढाउन थालेका छन्।
कर्पोरेशनले हाल प्रतिकिलो रू. ७७.५० मा चिनी बिक्री गर्दै आएको छ । निजी क्षेत्रका व्यवसायीहरुले भने प्रतिकिलो रू।९५ देखि रू।१००सम्ममा चिनी बिक्री वितरण गर्दै आएका छन् ।
निजी उद्योेगीको मनपरी
पछिल्लो समय देशमा उत्पादन हुने चिनीले स्वदेशी माग धान्न सक्दैन। स्वदेशी उत्पादनले करिव ७(८ महिनामात्र बजार मागलाई धान्ने गरेको छ। उत्पादन माग धेरै हुँदा चिनीको मौज्दात सकिएको निजी क्षेत्रका व्यवसायीहरु बताउँछन् ।
देशमा खपत हुने भन्दा आधामात्र चिनी उत्पादन भएसगैँ चिनीको अभाव सिर्जना भएको एक चिनी उद्योगीले जानकारी दिएका छन।
नेपालमा वार्षिक रुपमा २ लाख ५० हजार मेट्रिक टनदेखि ३ लाख मेट्रिक टनसम्म चिनीको माग हुने गरेको छ । करिब ३ लाख मेट्रिक टन चिनीको माग हुँदा यस वर्ष नेपालमा १ लाख मेट्रिक टन मात्र चिनी उत्पादन भएको थियो।
मागभन्दा दुई तिहाई न्यून मात्रामा चिनी उत्पादन हुनु र अन्य देशबाट आयात गरेर ल्याउँदा चिनीको मूल्य महङगो हुने भएको छ ।
सरकारी कम्पनीलाई ५० प्रतिशत भन्सार छुट दिँदा उनीहरुले सस्तो मूल्यमा चिनी बिक्री गर्ने गर्छन । निजी उद्योगीलाई भन्सार छुट छैन, अन्य देशबाट आयात गर्दा साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य कम्पनीभन्दा स्वभाविक रुपमा महङगो हुने एक उद्योगीले बताए।
निजी क्षेत्रका व्यवसायीहरुले सरकारी कम्पनीसँग चिनी सकिएसँगै उत्पादन कम भएको भन्दै मूल्य बढाउँदा उपभोक्ता मारमा परेका छन् ।
साल्ट ट्रेडिङसँग पर्याप्त मात्रामा चिनीको स्टक हुँदा निजी क्षेत्रका व्यवसायीले कम्पनीबाट सस्तोमा चिनी लिएर महङगोमा बिक्री गर्ने गरेका थिए ।
साल्ट ट्रेडिङ कर्पोरेसनसँग नै स्कट चिनी कम भएसगैँ गत फागुनदेखि होलसेल व्यापारीलाई चिनी बिक्री गर्न रोक लगाएको थियो ।
निषेधाज्ञा अघिसम्म होलसेल मूल्य ८१ रूपैयाँ प्रतिकिलो रहेकोमा हाल होलसेल मूल्य नै ८७ रूपैयाँ पर्ने गरेको खुद्रा व्यापार संघका पूर्व अध्यक्ष पवित्र बज्राचार्यले बताए।
उनका अनुसार अहिले चिनीको खुद्रा मूल्य प्रतिकिलो ९० देखि १०० रूपैयाँ पर्दै आएको छ ।

























