वामपन्थी नेता मानन्धरको अन्तिम बिदाई
काठमाडौं । पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको आज मङ्गलबार अन्तिम संस्कार गरिएको छ । पशुपति आर्यघाटमा नेता मानन्धरलाई अन्तिम बिदाइ गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, सभामुख अग्निप्रसाद सापकोटा, पूर्वसभामुख कृष्णबहादुर महरा लगायतको उपस्थिति रहेको थियो ।
विगत एक महिनादेखि पाटन अस्पतालमा उपचार गराइरहनुभएका नेता मानन्धरको ९१ वर्षको उमेरमा सोमबार साँझ ८।२० मा निधन भएको थियो । राणा विरोधी आन्दोलनदेखि नै देश र जनताको पक्षमा लागेका मानन्धर नेपालको वामपन्थी आन्दोलनका एक सादगी र इमान्दार नेताका रुपमा परिचित हुनुहुन्थ्यो ।
जिन्दगीभर कुनै पनि सरकारी पद लिन नचाहेका मानन्धरले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन निरन्तर प्रयास गर्दै आउनुभएको थियो । मानन्धरले राज्यका कुनै पनि सुविधा र सहुलियत नलिने घोषणा समेत गर्नुभएको थियो ।
उहाँले ज्येष्ठ नागरिक भत्तासमेत नलिनुभएको परिवारले जनाएको छ । उहाँको श्रीमतीको सात वर्षअघि निधन भएको थियो । स्वर्गीय मानन्धरका एक छोरा र तीन छोरी हुनुहुन्छ ।


























