वैदेशिक रोजगार फोरम स्थापना गरिने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले वैदेशिक रोजगार फोरम स्थापना गर्ने भएको छ । महासङ्घका अध्यक्ष शेखर गोल्छाले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न महासङ्घभित्र वैदेशिक रोजगार फोरम स्थापना गरिने बताउनु भएको हो ।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले महासङ्घका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई एवं शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताउनु भएको हो ।
महासङ्घभित्र स्थापना हुने फोरमले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न सबै व्यवसायीसँग सहकार्य गर्ने उहाँको भनाइ छ ।
देशमा रेमिट्यान्स भित्र्याइ अर्थतन्त्रलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने वैदेशिक रोजगार व्यवसायीलाई थप सम्मानित र व्यवस्थित बनाउन आफूले महासङ्घबाट प्राथमिकताका साथ काम गर्ने पनि अध्यक्ष गोल्छाले बताउनु भयो ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक व्यवसायीका समस्या समाधान गर्न आफू विगतदेखि नै लागि परेको बताउनु भयो ।
देशमा रेमिट्यान्स भित्र्याउन योगदान गर्ने व्यवसायीहरूका समस्या समाधान गर्ने विषयमा सधैँ पक्षमा रहेर वकालत गरेको पनि ढकालले बताउनु भयो । अब पनि महासङ्घमा बसेर वैदेशिक रोजगार क्षेत्रलाई थप मर्यादित बनाउन भूमिका खेल्ने उहाँको भनाइ छ ।
कार्यक्रममा वैदेशिक रोजगार व्यवसायीहरूले आफूहरूमाथि राज्यले हेर्ने दृष्टिकोणमा नै परिवर्तन हुनुपर्ने बताएका छन् । त्यसमा महासङ्घको साथ आवश्यक रहेको पनि व्यवसायीहरूले बताए ।

























