‘एक्जामिनेसन ग्लव्स’ को बजारमा चरम अभाव
काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या थपिँदै जाँदा उपचारका क्रममा स्वास्थ्यकर्मीहरूले लगाउनै पर्ने पञ्जाको चरम अभाव हुन थालेको छ। बजारमा स्वास्थ्यकर्मीहरूले प्रयोग गर्ने ‘एक्जामिनेसन ग्लव्स’ पाइनै छाडेको छ। ‘सर्जिकल ग्लव्स’ को अभाव हसन थालेपछि मूल्य आकासिएको छ।
आवश्यक पञ्जाको अभाव हुँदा स्वास्थ्यकर्मीहरू जोखिम मोलेर काम गर्न बाध्य भएका छन्। कतिपय अस्पतालमा स्वास्थ्यकर्मीका लागि पनि बिरामी आफैले पञ्जाको जोहो गरेर उपचारका लागि जान बाध्य भएका छन् ।
भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अहिले स्वास्थ्यकर्मीले लगाउने पञ्जा नै छैन । गत जेठ ३० गते आह्वान गरिएको बोलपत्रका आधारमा नारायणी डाग्नोस्टिक सेन्टर भरतपुरले एक वर्षका लागि उक्त अस्पताललाई सर्जिकल र एक्जामिनेसन ग्लव्स उपलब्ध गराउनेगरी असार २८ गते सम्झौता भएको थियो।
तर बजार भाउ महँगिएको भन्दै उक्त कम्पनीले केही दिन यता क्यान्सर अस्पताललाई पञ्जा उपलब्ध गराउन सकेको छैन। नारायणी डाग्नोस्टिक सेन्टरका सञ्चालक अर्जुन रानाभाटले सस्तो मूल्य भएको बेलामा टेण्डर पारेको तर अहिले मूल्य आकासिएका कारण भनेजति परिमाणमा उपलब्ध गराउन नसकेको बताए।
रानाभाटका अनुसार टेण्डर खुल्दा अस्पताललाई प्रति प्याकेट भ्याट बाहेक ३३५ रुपैयाँमा एक्जामिनेसन ग्लव्स उपलब्ध गराउन सकिन्थ्यो। रानाभाटका अनुसार आयातकर्ताले उक्त पञ्जा आयात गर्नै नसकेका कारण समस्या भएको छ।
अस्पतालका स्वास्थ्यकर्मीहरूले कोरोना संक्रमणको जोखिम रहेका कारण पञ्जा बिना काम गर्न नसकिने बताएका छन्। तर अस्पताल प्रशासनले उपलब्ध गराउन सकेको छैन । क्यान्सर अस्पतालकाअनुसार दैनिक दुई हजार जोर पञ्जाको आवश्यकता रहेकोमा त्यसको आधा पनि सप्लायर्सले दिन सकेको छैन।
अस्पतालको अगाडि रहेको विमल फार्मेसीका सञ्चालक विमल लामिछानेले केही दिन यता धेरै बिरामी ग्लव्स किन्न आएपनि आफूसँग नभएका कारण दिन नसकेको बताए। सर्जिकल ग्लव्स बजारमा उपलब्ध भएपनि महँगिएका कारण उनीहरूले किन्न नसकेको लामिछानेले बताए।
लामिछानेका अनुसार केही दिन अघिसम्म एक जोर सर्जिकल ग्लव्सको ३५ रुपैयाँमा बिक्री गर्ने गरेकोमा अहिले ४५ रुपैयाँ पर्न थालेको छ। भरतपुरका केही निजी अस्पतालले उनीसँग पनि एक्जामिनेसन ग्लव्स उपलब्ध गराइदिन आग्रह गरेका थिए।
भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले कोरोना संक्रमितको उपचार गर्ने मूख्य अस्पताल भएकाले ७ सय जना कर्मचारीलाई नै उक्त पञ्जा आवश्यक भएपनि दिन नसकिएको बताए ।
उक्त अस्पतालको स्टोर शाखाका प्रमुख केशव सापकोटाले यस्तो पञ्जा विगतमा दैनिक ५० हजार थान सम्म स्टक रहने गरेकोमा अहिले घटेर दैनिक ५ हजार थान स्टक रहेको छ। भरतपुर अस्पताललाई उक्त पञ्जा उपलब्ध गराउने टेण्डर हस्पिटल सर्भिस नेपालले पारेको थियो।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालको अवस्था पनि उस्तै छ। अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले केही दिनयता स्वास्थ्यकर्मीहरूलाई ग्लव्स उपलब्ध गराउन हम्मे भइरहेको बताए। देवकोटाले केही समय अघिसम्म प्रति प्याकेटको २८० रुपैयाँमा पाइने गरेको ग्लव्सको मूल्य बढेर अहिले एक हजार रुपैयाँसम्म पुगेको बताए।सर्जिकल ग्लव्समा संक्रमणबाट बच्नका लागि डिसइन्फेक्सन मिसाइएको हुन्छ। यो महँगो पनि हुन्छ।
त्यसैले यो शल्यक्रिया तथा महत्वपूर्ण उपचारमा सहभागि हुने स्वास्थ्यकर्मीहरूले मात्र पूयोग गर्छन्। एक्जामिनेसन ग्लव्स भने अस्पतालले अन्य स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई उपलब्ध गराउने गरेको थियो। कोरोना भाइरसको महामारी सुरु भएसँगै सर्वसाधारणले समेत यसको प्रयोग गर्न थालेका थिए।
सप्लायर्सहरू माग अत्याधिक भएका कारण सो अनुसार पु¥याउन नसकिएको बताउँछन्। केही महिना अघि मास्कको माग अत्याधिक हुँदा बजारमा चरम अभाव देखिएको थियो। उक्त समयमा मास्कको मूल्य आकासिएको थियो। मास्क लुकाएर अभाव श्रृजनागरी महँगोमा बिक्री गर्ने कतिपय व्यापारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।























