citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

हिमाल आरोहण दस्तुर बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । नेपालको हिमाल आरोहणमा विदेशी आरोहीको आकर्षण बढ्दै गएको छ । सन् २०२६ को शरद्याममा विभिन्न हिमाल आरोहणका लागि ७७ देशका एक हजार ६३३ आरोहीले अनुमति लिएका छन् ।

उक्त अनुमति बापत ३३ करोड ४२ लाख रुपियाँभन्दा बढी हिमाली दस्तुर प्राप्त भएको छ । जुन शरद्याममा हुने हिमाल आरोहणमध्ये हालसम्मकै सर्वाधिक रहेको पर्यटन विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार गत भदौ ८ गतेदेखि आरोहण अनुमति जारी भएकोमा बुधबारसम्म ५० वटा हिमाल आरोहणका लागि १९० समूहका एक हजार ६३३ आरोहीले अनुमति लिएका छन् । एक हजार २५३ पुरुष र ३८० महिलाले लिएको अनुमतिबापत ३३ करोड ४२ लाख ८६ हजार ६१७ रुपियाँ राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

“सबैभन्दा बढी मनासलु आरोहणका लागि पाँच सय आरोहीले अनुमति लिएका छन्,” उहाँले भन्नुभयो, “मनासलुबाट मात्रै यस याममा २२ करोड ५८ लाख ५७ हजार १८९ रुपियाँ राजस्व सङ्कलन भएको छ ।”

त्यस्तै गरी आमादब्लम आरोहणका लागि अनुमति लिएका ४७६ आरोहीबाट सात करोड १३ लाख ४७ हजार एक सय, हिमलुङ आरोहणका लागि अनुमति लिएका १३० आरोहीबाट ७९ लाख ७४ हजार २०, धवलागिरि प्रथम हिमाल आरोहणका लागि अनुमति लिएका ३७ जनाबाट ८४ लाख ७३ हजार ६५० रुपियाँ सङ्कलन भएको छ ।

शरद्याममा सबैभन्दा धेरै फ्रान्सका १५०, चीनका १४६, अमेरिकाका १३०, रुसका १२४, बेलायतका ११२ र जर्मनीका १०२ आरोहीले अनुमति लिएका छन् । त्यस्तै नेपालका ९०, स्पेनका ५६, स्विट्जरल्यान्डका ५२, अस्ट्रेलियाका ४६ र चेक गणतन्त्रका ४२ आरोहीले अनुमति लिएका छन् ।

विभागका अनुसार सन् २०२५ को शरद्याममा ५० वटा हिमाल आरोहणका लागि १७५ समूहका एक हजार ४५० आरोहीले अनुमति लिएका थिए । उक्त अनुमतिबापत २५ करोड ५१ लाख ६५ हजार ४३६ रुपियाँ राजस्व सङ्कलन भएको थियो ।

सरकारले १० वर्षपछि पर्वतारोहण शुल्क पुनरवलोकन गर्दै गत वर्ष भदौ १६ गतेदेखि नयाँ आरोहण शुल्क लागु गरेको थियो । सोही कारण यो सिजनमा आरोही सङ्ख्या १८३ जना (१२.६ प्रतिशत) र राजस्व सङ्कलन सात करोड ९१ लाख (करिब ३१ प्रतिशत) ले वृद्धि भएर राजस्वमा समेत रेकर्ड बनाएको विभागले जनाएको छ ।

त्यसअघि सन् २०२२ को शरद्याममा एक हजार ४३५ जना आरोहीले लिएको अनुमतिबाट नौ करोड ३० लाखभन्दा बढी, सन् २०२३ मा अनुमति लिएका एक हजार ३२६ जनाबाट सात करोड ८४ लाख नौ हजार र सन् २०२४ को शरद्याममा अनुमति लिएका एक हजार २९६ जना आरोहीबाट सात करोड ८० लाख रुपियाँ राजस्व सरकारी कोषमा दाखिला भएको थियो ।

विभागका अनुसार सन् २०२६ को वसन्त यामको आरोहण अन्तर्गत ३१ वटा हिमालबाट एक अर्ब २६ करोड रुपियाँ राजस्व प्राप्त भएको थियो ।

वसन्तयाममा सगरमाथा आरोहण अनुमतिबाट मात्रै एक अर्ब आठ करोड १० लाख ७२५ रुपियाँ राजस्व सङ्कल भएको थियो । उक्त रकम एकै सिजनमा हालसम्मकै कीर्तिमानी सङ्कलन हो ।

IME Life
ofukuro
kumari