सात निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा सात निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
कार्यालयले शुक्रबार सार्वजनिक गरेको सूचना अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) बमोजिम ती कम्पनीलाई कारबाही गरिएको हो।
कालोसूचीमा पर्नेमा बीएमआर कन्स्ट्रक्सन, हेभन–निसान जेभी, नबिता एण्ड लोप्चन कन्स्ट्रक्सन, आर.यु.पि.एस. कन्स्ट्रक्सन, बाल्ट्रा पेट्रोकेमिकल, सीआईपीईएल–शैलुङ जेभी र जी.बी. मेटल क्राफ्ट इन्डस्ट्रिज एण्ड सप्लायर्स रहेका छन्।
कार्यालयका अनुसार बीएमआर कन्स्ट्रक्सनलाई एक वर्ष, चार कम्पनीलाई दुई वर्ष तथा सीआईपीईएल–शैलुङ जेभी र जी.बी. मेटल क्राफ्टलाई दुई वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ।
कालोसूचीमा रहेका कम्पनीले तोकिएको अवधि पूरा नभएसम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।





























