citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

वैदेशिक रोजगारीको नाममा हुने ठगी रोक्न गृह मन्त्रालयले गठन गर्‍यो विशेष कार्यदल

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । वैदेशिक रोजगारी र कन्सल्टेन्सीमार्फत विदेश पठाउने नाममा नेपाली नागरिकमाथि हुने ठगी तथा श्रम शोषण नियन्त्रण गर्न गृह मन्त्रालयले विशेष कार्यदल गठन गरेको छ।

मन्त्रालयले विभिन्न सरकारी निकायका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरी यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूहको अनुगमन र कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

वैदेशिक रोजगारीमा एउटा कामको सम्झौता गरेर अर्को काममा लगाउने, सम्झौताअनुसारको तलब तथा सुविधा नदिने र भिजिट भिसामा रोजगारीको प्रलोभन देखाएर विदेश पठाउनेजस्ता घटना नियन्त्रण गर्न सरकारले यो कदम चालेको हो। त्यस्तै कन्सल्टेन्सीमार्फत विदेश पठाउने बहानामा हुने ठगीलाई पनि कार्यदलले निगरानी गर्नेछ।

गृहमन्त्री गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणका क्रममा अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित नेपाली महावाणिज्य दूतावासमा नेपाली समुदायसँग भएको छलफलमा यस्ता समस्या उठेका थिए।

नोभेम्बर १३ मा यूएई पुग्नुभएका मन्त्री गुरुङले नेपाली नागरिक ठगी र श्रम शोषणमा परेको गुनासोलाई गम्भीर रूपमा लिँदै दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका थिए।

सोही प्रतिबद्धता कार्यान्वयन गर्न स्वदेश फर्किएपछि गृहमन्त्री गुरुङले शुक्रबार गृह मन्त्रालयमा उच्चस्तरीय बैठक बोलाएका थिए।

बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवसहित गृह, श्रम, पर्यटन तथा शिक्षा मन्त्रालयका सचिव, नेपाल प्रहरीका महानिरीक्षक, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख, नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी तथा अन्य सम्बन्धित निकायका प्रतिनिधि सहभागी थिए।

बैठकले विभिन्न निकायका प्रतिनिधि सम्मिलित संयुक्त कार्यदल गठन गरी तत्काल काम सुरु गर्ने निर्णय गरेको छ। कार्यदलले वैदेशिक रोजगारीका नाममा हुने आर्थिक ठगी, करार सम्झौता उल्लङ्घन, कन्सल्टेन्सीमार्फत हुने ठगी तथा भिजिट भिसाको दुरुपयोग गरी हुने मानव तस्करी र श्रम शोषणका घटनाको निगरानी गर्नेछ।

साथै यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा गिरोहको पहिचान गरी प्रचलित कानुनअनुसार कारबाहीका लागि प्रक्रिया अघि बढाउने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ।

गृह मन्त्रालयले वैदेशिक रोजगारीका नाममा हुने ठगी र शोषणविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने जनाएको छ। मन्त्रालयले विदेश जानुअघि आधिकारिक प्रक्रिया, रोजगार सम्झौताका सर्त र गन्तव्य मुलुकको कानुनी व्यवस्थाबारे राम्रोसँग बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रहसमेत गरेको छ।

IME Life
kumari