डिजिटल वित्तीय ठगीमा परे तुरुन्त १२४७ नम्बरमा सम्पर्क गर्नू : राष्ट्र बैंक
काठमाडौं । साइबर तथा डिजिटल वित्तीय ठगीका घटनाबारे उजुरी तथा गुनासो गर्न नेपाल राष्ट्र बैंकले हटलाइन सार्वजनिक गरेको छ।
सर्वसाधारणका गुनासा तत्काल सम्बोधन गर्ने उद्देश्यले १२४७ नम्बरको हटलाइन सञ्चालनमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।
प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्युरोमा २४सै घण्टा सञ्चालन हुने गरी एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना गरिएको छ।
विभिन्न सरोकारवाला निकायको सहभागितामा स्थापना गरिएको उक्त केन्द्रमार्फत साइबर तथा डिजिटल वित्तीय ठगीका घटनामा आवश्यक समन्वय र सहजीकरण गरिनेछ।
सर्वसाधारणले अनलाइन ठगी, फिसिङ, नक्कली लिंक, अनधिकृत कारोबार तथा डिजिटल भुक्तानीसम्बन्धी ठगीका घटना भएमा १२४७ नम्बरमा सम्पर्क गरी उजुरी तथा जानकारी गराउन सक्नेछन्।
ठगीमा परेका व्यक्तिलाई ढिलाइ नगरी उक्त नम्बरमा सम्पर्क गर्न राष्ट्र बैंकले आग्रह गरेको छ। सम्पर्क गरेपछि केन्द्रबाट प्राप्त निर्देशनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन सकिनेछ।
यसैगरी कुनै पनि प्रकारको वित्तीय ठगीमा परेको अवस्थामा सम्बन्धित बैंक, वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी गराउन पनि राष्ट्र बैंकले अनुरोध गरेको छ।























