राष्ट्र बैंकको खुद नाफा दोब्बरभन्दा बढी, सरकारलाई ४२ अर्ब हस्तान्तरण
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ मा ४ खर्ब १० अर्ब रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको १ खर्ब ७२ अर्ब रुपैयाँको तुलनामा दोब्बरभन्दा बढी हो ।
राष्ट्र बैंकको वार्षिक प्रतिवेदनअनुसार नाफा वृद्धिको मुख्य कारण विदेशी विनिमय तथा सुनचाँदीको पुनर्मूल्याङ्कनबाट प्राप्त लाभ हो । समीक्षा वर्षमा विदेशी विनिमय पुनर्मूल्याङ्कनबाट २ खर्ब ५४ अर्ब र सुनचाँदी पुनर्मूल्याङ्कनबाट ७१ अर्ब ७१ करोड रुपैयाँ लाभ भएको छ ।
पुनर्मूल्याङ्कन लाभ तथा हानि समायोजनअघिको नियमित खुद आय भने ३.८४ प्रतिशतले बढेर ८३ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कुल खुद सञ्चालन आम्दानी ६.४८ प्रतिशतले वृद्धि भई ९३ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ ।
लेखापरीक्षण सम्पन्न भएपछि राष्ट्र बैंकले सञ्चालन नाफाबाट ४२ अर्ब रुपैयाँ सरकारलाई उपलब्ध गराएको छ । सञ्चालक समितिको निर्णयअनुसार विभिन्न कोषमा रकम विनियोजन गरी बाँकी रकम सरकारलाई हस्तान्तरण गरिएको हो ।
यसैबीच, २०८३ असार मसान्तसम्म राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्व ४५.०६ प्रतिशतले बढेर ३८ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ । कुल इक्विटी ५४.०५ प्रतिशतले वृद्धि भई १० खर्ब ४१ अर्ब र जगेडा कोष १० खर्ब ३६ अर्ब रुपैयाँ कायम भएको प्रतिवेदनमा उल्लेख छ ।























