नेपाल बैंक लिमिटेडको आज कार्तिक ३० गते ९० औँ वार्षिकोत्सव मनाए
नेपाल बैंककाे ७१ जिल्लामा शाखा
काठमाडौं । नेपाल बैंक लिमिटेडको आज कार्तिक ३० गते ९० औँ वार्षिकोत्सव मनाएकाे छ। याे बैंक नेपालकाे सबै भन्दा पहिलाे बैंक हाे।
वि. स. १९९४ कार्तिकमा राणा शासनकालमै यस बैंककाे स्थापना भएकाे थियाे। नेपाल बैंकको चुक्ता पुँजी रु. १४ अर्ब ६९ करोड, निक्षेप रु. चार खर्ब १६ अर्ब र कर्जा रु. दुई खर्ब ६२ अर्ब भन्दा बढी छ।
बैंकको निष्क्रिय कर्जा अनुपात ४.१८ प्रतिशत, ग्राहक संख्या २९ लाख २४ हजार र कर्मचारी संख्या तीन हजार ६ सय रहेको छ। त्यसैगरी, बैंकका २५० वटा एटिएम सञ्चालनमा रहेका छन।
मोबाइल बैंकिङका ग्राहक संख्या १० लाख पुगेको र बैंकले ७१ जिल्लामा शाखा विस्तार गरेको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले जानकारी दिएका छन।
यस अवसरमा आज कार्तिक ३० गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल बैंक लिमिटेडको ९० औँ वार्षिकोत्सव कार्यक्रमकाे उद्घाटन गर्दै उनले बैंकलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न र वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिएका छन्।
नेपालको बैंकिङ क्षेत्रमा गौरवमय इतिहास बोकेको यस बैंकले सुशासनको उच्च मापदण्ड कायम गर्दै डिजिटल रूपान्तरणमार्फत सरल र सहज बैंकिङ सेवा उपलब्ध गराउनुपर्नेमा अर्थमन्त्री वाग्लेले जोड दिएका छन। उनले नेपाल सरकारले वित्तीय क्षेत्र सुधारका लागि अघि सारेका तीन बुँदे कार्यसूची पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन।
साथै बैंकको काम कारबाही पारदर्शी बनाई जनविश्वास कायम राख्न, संस्थागत कमजोरी सुधार गर्न तथा तथ्याङ्कको सुरक्षामा विशेष ध्यान दिनुपर्ने अर्थमन्त्री वाग्लेले आग्रह गरेका छन।
यसैगरि मन्त्री डा.वाग्लेले आगामी दिनमा डिजिटल बैंकिङको विस्तार, लघु, साना तथा मझौला उद्यमलाई सहज वित्तीय पहुँच, हरित अर्थतन्त्रको प्रवर्द्धन तथा वित्तीय साक्षरता अभिवृद्धिमा बैंकले प्रभावकारी र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिएका छन।
साे अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले नेपालमा बैंकिङ इतिहासको सुरुआत गर्दै स्थापना भएको यस बैंकले बचत संस्कृतिको विकास, आर्थिक स्रोत परिचालन र पुँजी निर्माणका साथै मुलुकको औद्योगिक तथा व्यापार व्यवसायको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्याएको बताएका छन।























