त्रिविविमा जनशक्ति विकास कार्यक्रम
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिविवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास कार्यक्रम सञ्चालन गर्न रु एक करोड २५ लाख बजेट विनियोजन गरेको छ ।
उक्त बजेटबाट विश्वविद्यालयका ७७५ शिक्षक तथा कर्मचारीलाई सेवाकालीन र सेवा प्रवेश तालिम प्रदान गरिनेछ ।
त्रिविवि समन्वय महाशाखाद्वारा शुक्रबार आयोजित जनशक्ति विकास तथा कल्याण परिषद्को वार्षिक बैठकले नौ वटा शीर्षकमा तालिम सञ्चालन गर्ने कार्यक्रम तथा बजेट पारित गरेको हो ।
विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा अञ्जना सिंहको अध्यक्षतामा भएको बैठकले विश्वविद्यालय सेवामा प्रवेश गर्ने शिक्षक तथा कर्मचारीलाई सङ्गठनात्मक संरचना, कार्यप्रणाली, आचारसंहिता, अधिकार र कर्तव्यबारे अभिमुखीकरण गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, प्रशासनिक कर्मचारीका लागि आवश्यकता पहिचानमा आधारित क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने, नेतृत्व तहका पदाधिकारी, क्याम्पस प्रमुख, विभागीय प्रमुख तथा प्रशासनिक नेतृत्वको व्यवस्थापकीय क्षमता विकास गर्ने र कृत्रिम बुद्धिमत्ता, सूचना प्रविधि प्रणाली तथा कार्यालय सञ्चालनसम्बन्धी दक्षता अभिवृद्धि गर्ने कार्यक्रम पनि स्वीकृत गरेको त्रिविविले जनाएको छ ।


























