विदेशी मुद्राको कारोबारमा राष्ट्र बैंकले ल्यायो लचिलो नीति
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबारमा नेपाल राष्ट्र बैंकले लचिलो नीति अपनाएको छ ।
राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकिकृत परिपत्र– २०८२ संशोधन गर्दै विदेशी मुद्राको कारोबारमा लचिलो नीति ल्याएको हो ।
संशोधित एकिकृत परिपत्र अनुसार राष्ट्र बैंकले औषधि उपचारदेखि दूरसञ्चार सेवा भारतसँगको कारोबार तथा सेवा निर्यात कार्ड प्रयोगकर्ताले पाउने विदेशी मुद्रा सटही सुविधाको सीमा बढाएको छ ।
अब विदेशमा उपचार गराउने नेपाली नागरिकलाई वार्षिक ३० हजार अमेरिकी डलरसम्म विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । यसअघि यस्तो सुविधा वार्षिक १५ हजार डलरसम्म मात्र थियो ।
त्यस्तै, दूरसञ्चार सेवा प्रदायक नेपाली कम्पनीले विदेशी सेवा प्रदायकसँग सम्झौता गरी उपग्रह सेवा भाडामा लिँदा वा प्रयोग गर्दा वार्षिक ५ लाख डलरसम्मको भाडा रकम बैंक तथा वित्तीय संस्थाले आफैँ भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ । यसअघि यस्तो भुक्तानीको सीमा १ लाख डलर थियो ।
नियामक निकायबाट सम्झौता वा सहमति स्वीकृत भएको वा सटही सिफारिस प्राप्त भएको अवस्थामा वाणिज्य बैंकले प्रति पटक ३० हजार डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा दिन सक्ने व्यवस्था गरिएको छ । यसअघि यस्तो सीमा १५ हजार डलर थियो ।
हवाई जहाजका इन्जिन वा पार्टपुर्जा विदेशमा लगी मर्मत गरी ल्याउने प्रयोजनका लागि आवश्यक कागजातका आधारमा बैंक तथा वित्तीय संस्थामार्फत ५ लाख डलरसम्म अग्रिम भुक्तानी पठाउन सकिने व्यवस्था गरिएको छ ।
बैंकहरूले निर्यातबाट प्राप्त रकमको सीमाभित्र रहेर तेस्रो मुलुकमा ३० हजार डलर र भारतमा ६० लाख भारतीय रुपैयाँसम्म आयातका लागि भुक्तानी सुविधा उपलब्ध गराउन सक्नेछ । यसअघि तेस्रो मुलुकका लागि यस्तो सीमा १२ हजार डलर र भारतका लागि ३० लाख भारतीय रुपैयाँ थियो ।
राष्ट्र बैंकले सूचना प्रविधि, व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण, पर्यटन र ऊर्जा क्षेत्रमा विदेशी ऋण भित्र्याउने नेपाली फर्म तथा कम्पनीका लागि ‘क’ वर्गका बैंकले विदेशी मुद्रामा बैंक ग्यारेन्टी वा प्रत्याभूति जारी गर्न सक्ने व्यवस्था गरेको छ । यस्तो ग्यारेन्टी वा प्रत्याभूति ऋणको बक्यौता साँवा र ऋणको अवधिसम्म मात्र कायम रहनेछ ।
त्यस्तै, कार्ड प्रयोगकर्ताले विदेशमा अनलाइनमार्फत सेवा निर्यात गरेर आर्जन गरेको विदेशी मुद्रा पनि कार्डमा जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । कार्डमा मौज्दात १० हजार डलरभन्दा बढी भए बढी भएको रकम अनिवार्य रूपमा सम्बन्धित व्यक्तिको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा गर्नुपर्नेछ ।
सेवा निर्यातबाट विदेशी मुद्रा आर्जन गरेका कार्ड प्रयोगकर्ताले विदेशबाट वस्तु तथा सेवा खरिद गर्दा विदेशी मुद्रा सटहीको वार्षिक सीमा आर्जन गरेको रकम र ५०० डलरको योग बराबर हुने व्यवस्था गरिएको छ । तर, यस्तो सुविधा वार्षिक १० हजार डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राभन्दा बढी हुने छैन ।
अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ्ग एजेन्सीबाट ए–/ए३ रेटिङ्ग वा सो भन्दा माथिल्लो वर्गको रेटिङ्ग रहेको देशको उच्च तरल विदेशी सरकारी ऋणपत्रमा गरेको लगानीको हकमा उक्त ४० प्रतिशतको कुल लगानी सीमामा १० प्रतिशत थप गरी बढीमा ५० प्रतिशत र अधिकतम ५ वर्षसम्मका लागि लगानी गर्न सक्नेछन् ।
सूचना प्रविधि उद्योग, व्यवसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण, पर्यटन उद्योग र ऊर्जामूलक उद्योगले प्राप्त गर्ने विदेशी मुद्राको कर्जा सुविधा वा पुँजीगत वस्तु आयातका लागि बिक्रेताबाट उपलब्ध हुने उधारो सुविधाको विदेशी विनिमय जोखिम व्यवस्थापनका लागि उपलब्ध गराउने हेजिङ सेवाको अवधि तथा रकमभन्दा बढी नहुने गरी बढीमा ५ वर्ष अवधिका त्यस्ता वित्तीय उपकरणमा लगानी गर्न सक्नेछन्।





















