नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकमा जनकराज कालाखेती
काठमाडौं । नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकको जिम्मेवारी नायब महाप्रबन्धक जनकराज कालाखेतीले पाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार कालाखेतीलाई अर्को व्यवस्था नभएसम्मका लागि निगमको निमित्त महाप्रबन्धक तोकेको हो ।
मन्त्रालयको प्रशासन शाखाले भदौ १९ गते निगमलाई पठाएको पत्रमार्फत उनलाई आर्थिक तथा प्रशासनिक अधिकार सहित जिम्मेवारी दिइएको जनाएको छ ।
निगमका कर्मचारीको सेवासर्तसम्बन्धी विनियमावली, २०५५ को विनियम ३४ बमोजिम कालाखेतीले निमित्त महाप्रबन्धकका रूपमा अधिकार प्रयोग गर्नेछन् ।
निगमको व्यवस्थापकीय नेतृत्वमा कालाखेतीले दोस्रोपटक जिम्मेवारी सम्हाल्न लागेका हुन् । पछिल्लो समय निगमको नेतृत्वलाई लिएर उत्पन्न कानुनी अन्योलका बीच मन्त्रालयले उनलाई निमित्त महाप्रबन्धक तोकेको हो ।
गत असार ३० गते मन्त्रिपरिषद्ले महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत काम गर्ने गरी निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो ।
तर, ८० वर्ष उमेर पुगेका श्रेष्ठको नियुक्ति उमेरसम्बन्धी कानुनी व्यवस्थाविपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो । अदालतले उक्त नियुक्ति बदर गरेपछि श्रेष्ठ अहिले निगम सञ्चालक समिति सदस्यको भूमिकामा छन् ।
यसअघि निगमको महाप्रबन्धक नियुक्तिका लागि २०८२ सालमा अघि बढाइएको प्रक्रिया पनि सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।























