हिमालयन बैंकका अध्यक्ष अर्यालले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । हिमालयन बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्ष डा. बैकुण्ठ अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
डा. अर्यालले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा डा विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
हिमालयन बैंकको सञ्चालक समितिको भदौ १४ गते आइतबार बसेको ५०६औँ बैठकले अर्याललाई बैंकको अध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित गरेको थियो । उनको अध्यक्ष पदमा निर्वाचित हुने निर्णय भदौ १४ गतेदेखि नै लागू हुने बैंकले जनाएको छ ।
नेपाल सरकारका पूर्वमुख्य सचिवसमेत रहेका डा. अर्याल बैंकको संस्थापक समूहअन्तर्गतका शेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालकका रूपमा रहँदै आएका थिए । सञ्चालक समितिको निर्णयसँगै डा. अर्यालले बैंकको अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् ।




















