citizens life insurance long ad
stcnepal long ad

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये २६१ जनाको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार बुधबार बिहान भोटेकोशीमा गएको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये शनिबार साँझसम्म २६१ विदेशी पर्यटकको उद्धार गरिएको हो ।

बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनी मार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएर हराएमध्ये १६ देशका २६१ पर्यटकको उद्धार गरिएको जानकारी दिनुभयो ।

उद्धार गरिएका पर्यटकमध्ये भारतका १६७, चीनका ४०, बेल्जियमका एक, बुल्गेरियाका एक, जर्मनीका चार, इटालीका तीन, माल्टाका चार, ओमानका एक, पोर्चुगलका एक, रसियाका दुई, स्पेनका  दुई, स्वीजरल्यान्डका  दुई, टर्कीका दुई, युक्रेनका  आठ र अमेरिकाका तीन जना रहेका छन् ।

यस्तै, देश र परिचय नखुलेका २१ पर्यटकको उद्धार गरिएको बोर्डले जनाएको छ । बाढीमा परेर अझै ३२० पर्यटक सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य पर्यटन सरोकारवालाले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धारकार्यलाई तीव्रता दिएका छन् । घाइते र अलपत्र परेकालाई सुरक्षित स्थानमा ल्याउन सबै आवश्यक प्रयास भइरहेको बोर्डले जनाएको छ ।

नेपाल पर्यटन बोर्डले ‘पर्यटकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’ भन्दै सबैलाई धैर्य र सतर्क रहन आह्वान गरेको छ । नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

IME Life
kumari