एनएलजी इन्स्योरेन्स कम्पनीकाे ५ करोड ७८ लाख मुनाफा आर्जन
अन्य सूचकको अवस्था कस्तो ?
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएकाे वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा र प्रतिशेयर आम्दानीमा गिरावट सामान्य गिरावट आए पनि व्यवसाय विस्तार भने आक्रामक देखिएको छ ।
गत आर्थिक वर्षमा एनएलजी इन्स्योरेन्सले ५ करोड ७८ लाख १२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो मुनाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ६२.३१ प्रतिशतले न्यून रहन गएकाे छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १५ करोड ३३ लाख ८८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। विशेषगरी कम्पनीको खर्च र दाबी भुक्तानीमा भएको उच्च वृद्धिका कारण नाफामा संकुचन आएको हो ।
यस्तै कम्पनीको व्यवसाय गर्ने मुख्य स्रोत खुद बीमा शुल्क आर्जन १७.९९ प्रतिशतले बढेर १ अर्ब १५ करोड ९६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो आम्दानी ९८ करोड २८ लाख रुपैयाँ मात्र थियो ।
यस्तै कम्पनीको कूल आम्दानी पनि ११.६० प्रतिशतले वृद्धि भएर १ अर्ब ८३ करोड ५९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खर्च भार निकै बढेको देखिन्छ । गत आर्थिक वर्षमा कम्पनीको कूल खर्च २७.४१ प्रतिशतले वृद्धि भएर १ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै कम्पनीले गर्ने कूल दाबी भुक्तानीमा पनि ३७.५५ प्रतिशतको वृद्धि देखिएको छ। जसले नाफामा असर परेको देखिन्छ । दाबी भुक्तानी जति छिटाे र बढी भयाे,कम्पनी प्रति ग्राहककाे विश्वास उति बढछ। कम्पनीले अघिल्लो आर्थिक वर्ष २ अर्ब ४२ करोड रुपैयाँ रहेको दाबी भुक्तानी गरेकाेमा गत आर्थिक वर्षमा दाबी भुक्तानी ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।
पूँजीगत आधारमा कम्पनीको चुक्ता पूँजी ४ प्रतिशतले बढेर २ अर्ब ६६ करोड ७८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको बीमा कोषमा पनि १४.७६ प्रतिशतको वृद्धि भएकाे छ र साे बीमा काेषमा ३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ पुगेको छ।
तर रिटेन्ड अर्निङमा ८७.२० प्रतिशतको गिरावट आएर १ करोड १७ लाख रुपैयाँमा सीमित भएको छ । नाफामा आएको गिरावटसँगै प्रतिशेयर आम्दानीमा पनि गिरावट देखिएको छ ।
अघिल्लो वर्ष ५.९८ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी ३.८१ रुपैयाँ घटेर २.१७ रुपैयाँ ओर्लिएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ भने १६६.३६ रुपैयाँ कायम भएको छ ।





















