फिफा विश्वकप विजेताले पाउने छ करिब ६ अर्ब ९० करोड रुपैयाँ
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले जारी विश्वकपका लागि इतिहासकै सबैभन्दा ठूलो पुरस्कार राशि दि“दै छ । फिफा काउन्सिलद्वारा स्वीकृत नयाँ आर्थिक वितरण योजना अनुसार विश्वकप उपाधि जित्ने टोलीले ५ करोड अमेरिकी डलर अर्थात् हालको विनिमय दरअनुसार करिब ६ अर्ब ९० करोड नेपाली रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
फिफाका अनुसार २०२६ विश्वकपमा सहभागी ४८ राष्ट्रबीच प्रदर्शनका आधारमा मात्रै ६५ करोड ५० लाख अमेरिकी डलर अर्थात् करिब ९० अर्ब ४० करोड नेपाली रुपैयाँ पुरस्कार वितरण गरिने छ । यो रकम सन् २०२२ को कतार विश्वकपको तुलनामा करिब ५० प्रतिशतले बढी हो ।
यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले ३ करोड ३० लाख अमेरिकी डलर अर्थात् करिब ४ अर्ब ५५ करोड नेपाली रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो स्थान हासिल गर्ने टोलीले २ करोड ९० लाख अमेरिकी डलर अर्थात् करिब ४ अर्ब रुपैयाँ, तथा चौथो हुने टोलीले २ करोड ७० लाख अमेरिकी डलर अर्थात् करिब ३ अर्ब ७० करोड नेपाली रुपैयाँ पुरस्कार पाउने छन् ।
त्यस्तै, क्वार्टरफाइनलसम्म पुग्ने पाँचौंदेखि आठौं स्थानका टोलीले १ करोड ९० लाख अमेरिकी डलर ९करिब २ अर्ब ६० करोड रुपैयाँ, ‘अन्तिम १६’मा पुग्ने टोलीले १ करोड ५० लाख अमेरिकी डलर ९करिब २ अर्ब ७ करोड रुपैयाँ तथा समूह चरण पार गर्न नसक्ने टोलीले पनि आफ्नो नतिजाअनुसार ९० लाखदेखि १ करोड १० लाख अमेरिकी डलरसम्म ९करिब १ अर्ब २४ करोडदेखि १ अर्ब ५२ करोड रुपैयाँसम्म० पुरस्कार प्राप्त गर्ने छन् ।
फिफाले प्रतियोगिताका लागि छनोट भएका सबै ४८ टोलीलाई तयारी खर्चस्वरूप १५ लाख अमेरिकी डलर अर्थात् करिब २० करोड ७० लाख नेपाली रुपैयाँसमेत उपलब्ध गराएको थियो ।
सन् २०२६ को विश्वकप पहिलोपटक ४८ टोली संख्या बढाइएसँगै प्रतियोगिताको आकार, खेल संख्या, व्यावसायिक आम्दानी र पुरस्कार राशि पनि उल्लेखनीयरूपमा वृद्धि गरिएको फिफाले जनाएको छ ।
पुरस्कार राशिमा गरिएको ऐतिहासिक वृद्धि विश्व फुटबलको बढ्दो व्यावसायिक मूल्य, प्रसारण अधिकार, प्रायोजन तथा विश्वव्यापी दर्शक संख्यामा भएको विस्तारको प्रतिफल हो । सन् २०२६ विश्वकपलाई आर्थिक, प्राविधिक र व्यावसायिक हिसाबले अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकपका रूपमा हेरिएको छ ।

























